सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलपन्छीको वासस्थान जोखिममा

जलसरोकार
बिहीबार, माघ ०१, २०८२ | ०९:२८:१२ बजे

 

नेपालगन्ज : बाँके जिल्लामा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा परेको पाइएको छ । दुई दिनसम्म सञ्चालन गरिएको जलपन्छी गणनाका क्रममा जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधार विकास तथा सिमसार क्षेत्रको सङ्कुचनका कारण जलपन्छीको वासस्थान असुरक्षित बन्दै गएको तथ्य बाहिर आएको हो।

नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीका अनुसार बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, विभिन्न तालतलैया, सिमसार तथा जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको थियो। सो क्रममा नेपालगन्जस्थित कान्तितालमा विगतका वर्षको तुलनामा जलपन्छीको सङ्ख्या घटेको पाइएको उहाँले जानकारी दिए ।

“पहिलेका वर्षमा करिब ५५ प्रजातिका जलपन्छी देखिने गर्थेँ, तर यस वर्ष त्यो सङ्ख्या घटेको छ,” नेपालीले भने, जिल्लामा हाल करिब ५० प्रजातिका जलपन्छी पाइने अनुमान गरिएको छ, जसमा चखेवा र सिलसिले हाँसको सङ्ख्या सबैभन्दा बढी रहेको उनले बताए ।

नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको छ । यस वर्ष पुस १९ गतेदेखि देशका विभिन्न स्थानमा गणना सुरु गरिएको र माघ ४ गतेसम्म अन्य जिल्लामा समेत गणना गरिने परियोजनाले जनाएको छ ।

जाडो याममा उत्तरी ध्रुव तथा आसपासका क्षेत्रमा हिउँ परेपछि आहारविहारको अभाव हुने भएकाले आगन्तुक चरा हरेक वर्ष बसाइँसराइ गरी नेपाल आउने गरेको परियोजना अधिकृत नेपालीले बताए । उनका अनुसार विश्वमा चराका आठ वटा प्रमुख उडान मार्गमध्ये नेपाल दक्षिण एसिया उडान मार्गमा पर्छ, जसका कारण विभिन्न देशबाट विशेषगरी हाँस प्रजातिका चरा नेपाल आउने गर्दछन्।

गणनाका क्रममा स्थानीय प्रजातिका चिबे चरा पनि देखिएको भए पनि कम देखिएका प्रजातिको विस्तृत विश्लेषण अझै बाँकी रहेको जनाइएको छ ।

यसैगरी, परियोजनाका अर्का अधिकृत अमृत नेपालीले जलपन्छीको वासस्थान संरक्षणमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार कान्तिताल क्षेत्रमा यस वर्ष करिब ४० प्रजातिका जलपन्छी देखिएका छन्, जबकि गत वर्ष सो सङ्ख्या ५५ थियो।

जलपन्छी गणनाले पानीमा आश्रित चराको अवस्था, प्रजातिगत विविधता, सङ्ख्यामा आएको घटबढ, साथै तालतलैया र सिमसार क्षेत्रको अवस्थाबारे महत्वपूर्ण तथ्याङ्क सङ्कलन गर्ने परियोजनाले जनाएको छ । नेपालका ८० भन्दा बढी सिमसार तथा जलीय क्षेत्रमा हाल जलपन्छी गणना भइरहेको छ।

सङ्कलित तथ्याङ्क सरकारलाई उपलब्ध गराइने र त्यसले नीति निर्माण तथा संरक्षणसम्बन्धी कार्ययोजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, चरा गणनासँगै समुदायस्तरमा सचेतना अभिवृद्धि, संरक्षणमा सहभागिता र राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा जानकारीमूलक अभियानसमेत सञ्चालन गरिँदै आएको परियोजनाले जनाएको छ ।

बाँकेको नेपालगन्जस्थित कान्तितालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने गर्दछ। यसबाहेक सिलसिले हाँस, मरुन, कुट, बकुल्ला, जलेवा, सिमकुखुरा, किङफिसरलगायत विभिन्न पानीमा आश्रित जलपन्छी यहाँ अवस्थित छन्।

प्रकाशित मिति : बिहीबार, माघ ०१, २०८२ | ०९:२८:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया