तुलसीपुरका ग्रामिण बस्तीमा खानेपानी समस्या, पानी भर्न रातभर जाग्राम
जलसरोकार
काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ। तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ। घर अगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकूल हुन्छन्।
धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बास निवासी शशिकला विकले बताइन्। उनका अनुसार खोलामा पालो पाउन गाह्रो पर्छ। धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुर्नुपर्ने अवस्था छ। सडक र विद्युत् पुगे पनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ। ‘घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ’, उनले भनिन्, ‘तर कहिल्यै १२ बजेसम्म पनि पानी ल्याइ नपुर्याउँदा त्यतिबेलासम्म खाना पाकेको हुँदैन।’
गाउँका सबै मान्छे दुईतीन घण्टा हिँडेर धारेखोला गएर पानी ल्याउने गर्छन्।
त्यहाँ पनि पालो पाइँदैन। मुहान सानो भएकाले पहिले गएकाले पानी पाउँछन् भने पछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताइन्। ‘पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अवस्था छ’, उनले भनिन्, ‘पानी ल्याउनलाई राति उठ्नुपर्छ।’
पालो पाएपछि बिहान ६ बजे घर पुगिन्छ नपाए भने १०/११ बज्ने गरेको उनीहरुको गुनासो छ। उनीहरुका अनुसार त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरिएको छ।
त्यहाँ गाउँका दुई ट्याङ्की छन्। तीमध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बास पानीका लागि पाइपबाट पठाउने गरिन्छ।
त्यहाँ पानी नपाउने समस्याले वर्षौंखि आजित भएको स्थानीय मालबहादुर वलीले बताए। अहिले त्यहाँ सडक र विद्युत् पुगेको छ। विद्युत् पनि वर्षा लाग्नैबित्तिकै जाने गर्छ। चार वर्षअघि त्यहाँ विद्युत् जडान गरिएको हो। उनका अनुसार बीचबीचमा विद्युत् जाने आउने समस्या भइरहने गर्छ। ‘एउटा रुख ढल्यो कि विद्युत् बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन’, स्थानीय अगुवा लीलामणि बाँठाले भने, ‘सडक पनि वर्षात्मा त्यस्तै समस्या हुन्छ।’ त्यहाँ कल्ले, बल्ले, टुनापानी, नाउला, अम्बास, सितधारालगायतका गाउँहरु छन्। त्यहाँ करिब तीन सय बढी घर रहेका छन्। रासस
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना