मुगुमा पानीको हाहाकार, खच्चडमार्फत ढुवानी गरिँदै
जलसरोकार
काठमाडौं– जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको चार वडाका १८ बस्तीका बासिन्दा लामो समयदेखि पानीको हाहाकारमा बाँच्न बाध्य छन्।
सोरु गाउँपालिका १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीमा गाउँघर नजिकका मूल सुकेका र सरकारी संयन्त्रबाट दीर्घकालीन पानीका योजनाहरू प्राथमिकतामा नपरेपछि लामो समयदेखि खानेपानीको हाहाकार भोग्नु परेको हो।
सोरु गाउँपालिकाभित्र ११ वटा वडा छन्। सबैभन्दा बढी १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीका १ हजार ३ सय ७९ घरधुरीले खानेपानीको समस्या भोग्दै आएका छन्।
यहाँका सर्वसाधारणले गाउँमा रहेका पानीको धारामा पानी थाप्न बिहानदेखि बेलुकीसम्मै लाइन लागेर बस्नुपर्छ। २० लिटरको ग्यालेन भर्न २० मिनेट धारामै कुर्न बाध्य यहाँका बासिन्दामा सबैभन्दा बढी महिलाले पानीको समस्या झेल्दै आएका स्थानीय बताउँछन्।
खानेपानीको समस्याले सरसफाइदेखि समयमै खाना बनाउन नपाउँदा कुनै दिन बालबालिका विद्यालयसमेत जान नपाएका स्थानीय जनमती लुहारले बताइन्। पानी नहुँदा घरनजिकै रहेको करेसाबारी पनि सुक्खा हुने गरेको उनले गुनासो गरिन्। ‘बिहान बेलुका एकपटक धारामा पानी आउँछ। बच्चा बोकेर लाइनमा बस्नुपर्ने हुन्छ। घरमा सबैका आ–आफ्ना काम हुन्छन्। पानी थाप्नकै लागि कहिले भनाभन् र झगडासमेत हुन्छ’, जुवलधारा गाउँकी रूपा मल्लले भनिन्, ‘सबैभन्दा गाह्रो त साना दूध खाने बच्चा भएका आमाहरूलाई हुन्छ। बच्चाले घरीघरी दिसापिसाब गर्छन्, सरसफाइ गर्न पर्याप्त पानी हुँदैन।’
सबैभन्दा बढी पानीको हाहाकार सोरु गाउँपालिका—३ भिईका आठ बस्ती र वडा नम्बर ६ पालिका केन्द्र रहेको सोरुकोट बन्जाह, पुरुमुरु जिमामा हुन्। ९ किलोमिटर टाढा लिब्र खोलाबाट सोरुकोटमा पानी पु¥याई २६ धारा निर्माण भएका थिए। २६ मध्ये ६, ७ वटा धारा मात्र सञ्चालनमा छन्। पालिका केन्द्र रहेकै स्थानका सर्वसाधारणले पानीको समस्या भोगेका जनप्रतिनिधिहरूले दिनहुँ देखेका हुन्छन्। तर समस्या उस्तै रहेको स्थानीय लोकजङ बुढाले बताए।
१८ बस्तीका १ हजार ३ सय ७९ घरधुरीका लागि सोही गाउँपालिका—५ नेहर गाउँको सिमसाबाट २२ किलोमिटर टाढा सोरुकोटमा पानी पुयाउने योजना थियो। जसका लागि आर्थिक वर्ष २०७७।०७८ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाले तीन वर्षभित्र १० करोड ८४ लाखमा निर्माण सम्पन्न गर्न भीमेश्वर गाल्वा धुलिखेल जेभीसँग सम्झौता गरेको थियो। हाल निर्माणको कार्य ८० प्रतिशत पूरा भएको छ। डीपीआर निर्माण गर्ने फर्मको कमजोरीका कारण केही बस्तीमा पानी चढ्न नसकी पाइप फुट्न थालेको छ। सम्पन्न भएको कामको रकम सम्बन्धित निकायबाट भुक्तानी नहँुदा पनि काममा ढिलाइ हुन पुगेको हो। बाँकी काम असारभित्रै सम्पन्न हुने भीमेश्वर गाल्वा धुलिखेल जेभिका प्रतिनिधि खड्क शाहीले जानकारी दिए।
भौगोलिक विकटता र बाढीपहिरोका कारण सामग्री ढुवानी नभएको र सरकारबाट आवश्यकता अनुसारको रकम विनियोजित नहँुदा केही ढिलाइ भएको हो। ७८ प्रतिशत भौतिक र ५८ प्रतिशत आर्थिक प्रगति भएको छ। आवश्यकता अनुसारको रकम अर्थ मन्त्रालयमा माग गरिएको छ। रकम विनियोजित भए यही आउँदो आर्थिक वर्षबाटै घरघरका धारामा पानी पुग्ने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख दीपेन्द्र भट्टले बताए। लामो समयदेखि पानीको अभाव हुँदै आएपछि खच्चडमार्फत पानी ढुवानी गरिँदै।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?