उदयपुरमा झोलुङ्गे पुलले जोडियो जनजीवन
जलसरोकार
उदयपुर (गाईघाट), : चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदी मा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय जनजीवनमा सहजता आएको छ। बाढीले पक्की पुल भत्काएपछि सोही स्थानमा विकल्पका रूपमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
नगरप्रमुख कालुमान लामा का अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ रहेको उक्त पुल निर्माणमा करिब ६० लाख रुपैयाँ खर्च भएको छ। पक्की पुल निर्माण नहुँदा नदीपारीका वडा नं. १०, ५ र ९ का बासिन्दाले लामो समयसम्म आवतजावतमा कठिनाइ भोग्दै आएका थिए।
विशेषगरी वर्षायाममा स्थानीयलाई डुङ्गाको सहारामा नदी तर्नुपर्ने बाध्यता थियो। झोलुङ्गे पुल निर्माणपछि झण्डै पाँच हजार स्थानीयलाई बेल्टार बजारसम्म आउजाउ गर्न सहज भएको नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले बताए ।
उक्त स्थानमा २०६७ सालमै पक्की पुल निर्माण सुरु गरिएको थियो, जसका लागि ११ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर २०७८ सालमा आएको त्रियुगा नदीको बाढीले पुलका तीनवटा पिलर र स्ल्याब बगाएपछि योजना अलपत्र बनेको थियो ।
“पक्की पुल पुनःनिर्माणका लागि पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ भएन,” उपप्रमुख दुलालले भन्नुभयो, “त्यसैले स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गर्नुपरेको हो।”
झोलुङ्गे पुल निर्माणले तत्काल समस्या समाधान गरे पनि दीर्घकालीन पूर्वाधार विकासमा सरकारी ढिलासुस्ती उजागर भएको छ। बाढीले क्षति पुर्याएको पक्की पुल समयमै पुनःनिर्माण हुन नसक्दा स्थानीय तह आफैंले वैकल्पिक उपाय अपनाउन बाध्य भएको देखिन्छ।
यसले विपद्पछिको पुनःनिर्माणमा समन्वय र कार्यान्वयन कमजोर रहेको संकेत गर्छ। दीर्घकालीन रूपमा सुरक्षित र दिगो पूर्वाधार निर्माणमा ध्यान नदिए यस्ता अस्थायी समाधानहरू दोहोरिइरहने सम्भावना रहन्छ।
लेखकको बारेमा