बूढीगण्डकीमा भीषण बाढी : सल्लेरी बजार डुबानमा, ३५ घर बगायो, पुलहरूमा क्षति
जलसरोकार
गोरखा : गोरखाको बूढीगण्डकी नदीमा आइतवार बिहान एकाएक आएको भीषण बाढीले विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको छ । नदीमा आएको बाढीले सल्लेरी बजारसहित आसपासका बस्ती प्रभावित भएका छन् भने दर्जनौँ घर, टहरा र पुल बगाएको छ । बाढीको जोखिम बढेपछि नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
बिहान करिब साढे ४ बजे ठूलो आवाजसहित बाढी आउन थालेपछि नदी किनारका बस्तीमा भागदौड मच्चिएको थियो । बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि पानी एकाएक बढेको आशंका गरिएको छ । चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङ क्षेत्रमा पहिरो खसेर नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएको हुन सक्ने पनि आशंका गरिएको छ । नदी थुनिने र खुल्ने क्रमका कारण तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बताइएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन् । उनका अनुसार चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
बाढीले भौतिक संरचनामा समेत व्यापक क्षति गरेको छ । चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ । सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा बाढी पसेको छ ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा सातवटा घर र सातवटा टहरामा क्षति पुगेको प्रहरीले जनाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीका २२ घरसमेत जोखिममा परेका छन् । बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको छ ।
बाढीको जोखिम अझै कायम रहेकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई माइकिङ तथा फोनमार्फत सतर्क गराइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिएका छन् । नदीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा सर्न भनिएको हो ।
बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ । हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बाढीका कारण घर, पुल तथा अन्य संरचनामा पुगेको क्षतिको थप विवरण आउन बाँकी रहेकाले प्रभावित क्षेत्रको अवस्था अझै स्पष्ट हुन सकेको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनामा विपद् प्रतिकार्यको नमुना अभ्यास
-
बूढीगण्डकी बाढीबारे सेनाको प्रतिवेदन : सुक्खा पहिरोले थुनिएको नदी खुलेपछि भीषण बाढी
-
बूढीगण्डकीको बाढी : टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ कर्मचारीले भागेर जोगाए ज्यान
-
बूढीगण्डकीको बाढीले छ पुल बगायो, कम्तीमा १० जना सम्पर्कविहीन
-
बूढीगण्डकीमा भीषण बाढी : सल्लेरी बजार डुबानमा, ३५ घर बगायो, पुलहरूमा क्षति
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना