अविरल वर्षाका कारण सात राजमार्ग पूर्णरूपमा अवरुद्ध
जलसरोकार
काठमाडौं: देशभरको अविरल वर्षाले मुलुकका प्रमुख राजमार्गहरू प्रभावित पार्दै सात वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा देशका विभिन्न भूभागमा चल्ने यातायात सेवा ठप्प भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार लगातारको वर्षाले पूर्वदेखि पश्चिमसम्मका मुख्य सडक खण्डहरू क्षतिग्रस्त भएका छन्। अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गसमेत पूर्णरूपमा बन्द भएका छन् ।
त्यसैगरी, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडकसमेत पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग, र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि सम्बन्धित जिल्लाहरूमा मालवाहक र सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ । कतिपय स्थानमा यात्रुहरू सडकमै अलपत्र परेका छन्। प्रहरीले आवश्यक स्थानमा सुरक्षाकर्मी परिचालन गरी पहिरो हटाउने तथा वैकल्पिक आवागमन सहज बनाउने प्रयास जारी राखेको जनाएको छ ।
सडक पूर्वावस्थामा फर्कन अझै केही दिन लाग्ने अनुमान गरिएको छ । यतिखेर बाढी, पहिरो र सडक कटानबाट प्रभावित क्षेत्रका नागरिकलाई सचेत रहन तथा अनावश्यक यात्रा नगर्न सुरक्षा निकायले अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड