मादी नदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु
जलसरोकार
तनहुँ,: साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ ।
यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो । मादीनदी किनारमा इनार निर्माण सम्पन्न गरी पाइपलाइन विस्तार तीव्र रूपमा भइरहेको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । उनका अनुसार आयोजनाको ७० र संस्थाको ३० प्रतिशत गरी रु एक करोड ८० लाख लागत रहेको छ ।
“दोस्रो मादी लिफ्ट योजना सम्पन्नपश्चात् दैनिक आठ लाख लिटर पानी थप हुनेछ”, व्यवस्थापक गिरीले भने, “यसपछि पानी वितरणमा सहज हुने अपेक्षा लिएका छौँ ।” खानेपानीको समस्या भोग्दै आएका मालपोत लाइन, सत्यवती लाइन र देउराली नगर क्षेत्रका बासिन्दालाई छ इञ्चको पानी सिधै ट्याङ्कीबाट वितरण गर्न लागिएको संस्थाले जनाएको छ ।
मादीनदी सम्पवेलबाट बाघभञ्ज्याङ, डाँग्रीखोल्सीलगायत क्षेत्रमा दुई हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन विस्तार कार्य भइरहेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए । उनले भने,“पानी छोड्ने र बन्द गर्ने कार्यलाई सहज बनाउन मादीनदी किनारमा ‘गार्ड हाउस’ निर्माण गरिनेछ ।”
सदरमुकाम दमौली बजार क्षेत्रमा हुनसक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै तीन स्थानमा खोल्न र पानी भर्न मिल्ने ठाउँ राखेर दमकलमा पानी भर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
मादीनदीमा निर्माण गरिएको योजनाको खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना निर्देशक राजेन्द्र सापकोटासहित सरोकार भएका निकायका प्रतिनिधिको टोलीले निरीक्षण गरेका थिए । संस्थाले व्यास नगरपालिका–२, ३, ४ मा गरी चार हजार उपभोक्तालाई दैनिक पानी वितरण गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एडीबीको आपत्तिले रोकिएको सिँचाइ आयोजना अघि बढाउन मन्त्रालयको नयाँ पहल
-
सिंहदरबारबाट लखेटिएको जल तथा ऊर्जा आयोगलाई ‘नलेज सेन्टर’ बनाइने
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो