सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज वर्षाको सम्भावना

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | ०९:२५:१० बजे

 

काठमाडौं : भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार ती क्षेत्रमा आज भारी वर्षाको सम्भावना भने न्यून रहेको छ।

मौसमविद् अधिकारीका अनुसार दिउँसो ती जिल्लाका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना नरहेको अधिकारीले बताए।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्नसक्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | ०९:२५:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको