उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
पृथ्वी र बीपी राजमार्गमा पहिरो, नयाँ बसपार्कमा बिहीबार साँझदेखि सवारीको चाप
जलसरोकार
काठमाडौं : देशका विभिन्न भागबाट काठमाडौं जोड्ने प्रमुख राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध भएपछि सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण राजधानी भित्रिने र बाहिरिने सार्वजनिक यातायात प्रभावित भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौं जोड्ने प्रमुख राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि देशका विभिन्न भागतर्फ जाने सार्वजनिक बस काठमाडौंमै रोकिएका छन् ।
उनका अनुसार पृथ्वी राजमार्ग र बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यसका कारण काठमाडौं बाहिरिने लामो दूरीका सवारीसाधनको आवागमन प्रभावित भएको हो ।
काठमाडौं–हेटौँडा जोड्ने फर्पिङको बाटो भने सञ्चालनमा रहेकाले साना सवारीसाधन आवतजावत गरिरहेका छन् । ठूला तथा सार्वजनिक सवारीका लागि भने अन्य प्रमुख राजमार्गमा अवरोध हुँदा आवागमन सहज हुन सकेको छैन ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार बिहीबार साँझदेखि नै गोङ्गबुस्थित नयाँ बसपार्कमा सार्वजनिक यातायातका सवारीसाधन रोकिएका छन् ।
‘देशका विभिन्न भागबाट काठमाडौं जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँ बसपार्कमा रोकिएका छन्,’ मल्लले भने ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं बाहिरिने यात्रुहरू समेत प्रभावित भएका छन् । सडक खुल्ने अवस्था यकिन नभएसम्म लामो दूरीका सवारी सञ्चालनमा अन्योल देखिएको छ ।
यसैबीच, बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा पनि अविरल वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण उपत्यकाभित्रका नदी तथा खोलामा पानीको सतह क्रमशः बढ्न थालेको छ ।
नदीको बहाव बढेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदी करिडोरमा सवारीसाधन नरोकिन र पार्किङ नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका सडकमा आवतजावत तथा पार्किङ गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षाका कारण राजमार्गमा पहिरो जान सक्ने भन्दै चालक तथा यातायात व्यवसायीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले वर्षाका कारण जुनसुकै बेला राजमार्ग अवरुद्ध हुन सक्ने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर मात्र सवारी सञ्चालन गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गरे ।
असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमानसहित विभिन्न सरकारी तथा सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन अपिल गरिरहेका छन् । लगातार वर्षा भइरहेकाले राजमार्गमा थप पहिरो तथा सडक अवरोध हुन सक्ने भन्दै यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध
-
विज्ञानलाई वित्तसँग जोड्दै एनएमबी बैंक र इसिमोड बीच सहकार्य
-
कुलेखानीमा बाढी जोखिम नियन्त्रणको तयारी, तल्लो तटीय क्षेत्रमा साइरन र एसएमएस अलर्ट