सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मनसुनपूर्व तयारी : बाढी–जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा पूर्वसूचना प्रणाली सक्रिय

जलसरोकार
बिहीबार, वैशाख ०३, २०८३ | १६:४८:२१ बजे

 

काठमाडौं : आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ। विभागले मनसुन अवधिभर मौसम तथा बाढी पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ।

विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठका अनुसार मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखा निरन्तर सक्रिय रहनेछन्। नियमित रूपमा तीन दिनसम्मको मौसम पूर्वानुमान दैनिक बिहान ८ बजे र साँझ ६ बजे सार्वजनिक गरिनेछ भने विशेष जोखिम देखिएमा तीनदेखि पाँच दिनअगावै चेतावनीसहित विशेष बुलेटिन जारी गरिने व्यवस्था गरिएको छ।

भारी वर्षा, मेघगर्जन, चट्याङ र हिमपातजस्ता जोखिमयुक्त मौसमी अवस्थाबारे समयमै जानकारी दिन रङ्गसूचकसहितको चेतावनी नक्सा पनि प्रकाशन गरिने विभागले जनाएको छ। देशभर रहेका स्वचालित जल तथा मौसम मापन केन्द्रबाट सङ्कलित तथ्याङ्क वास्तविक समयमा विभागको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

बाढी जोखिम न्यूनीकरणतर्फ प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीमा तीन दिनअगावै बाढीको पूर्वानुमान गरिनेछ। साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले दुईदेखि छ घण्टा अगावै सूचना दिने व्यवस्था मिलाइएको छ भने ठूलो बाढीको सम्भावना भएमा पाँच दिनअघि नै पूर्वसूचना जारी गरिने तयारी गरिएको छ।

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन एसएमएस सेवामार्फत जोखिम क्षेत्रका सर्वसाधारण, जनप्रतिनिधि र सरोकारवाला निकायलाई निःशुल्क सूचना पठाइनेछ। यसका लागि नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिएको छ। साथै, ११५५ नम्बरको टोल–फ्री सेवामार्फत बाढी (११५५–२) र मौसम (११५५–१) सम्बन्धी जानकारी चौबिसै घण्टा उपलब्ध गराइनेछ।

विभागले आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल (एक्स र फेसबुक) तथा इमेलमार्फत पनि नियमित रूपमा मौसम बुलेटिन र चेतावनी सार्वजनिक गर्ने जनाएको छ। पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी सूचना प्रवाह गरिने व्यवस्था मिलाइएको छ।

विभागले मनसुन अवधिमा सम्भावित जोखिम न्यूनीकरणका लागि समयमै सूचना प्राप्त गरी सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : बिहीबार, वैशाख ०३, २०८३ | १६:४८:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया