देशभर बदली र वर्षाको सम्भावना, 'एल-निनो' का काण मनसुन प्रवेश भने अझै अनिश्चित
जलसरोकार
काठमाडौं : देशभर अहिले मनसुनी प्रणालीको प्रभावसँगै स्थानीय तथा पूर्वीय वायु (बाहिर (पूर्व/बंगालको खाडीबाट आएको चिसो–चिस्यानयुक्त हावा) को आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा मनसुन सक्रिय भए पनि यसको प्रभाव सबै क्षेत्रमा समान रूपमा फैलिन सकेको छैन।
आज कोशी प्रदेशका धेरै स्थानमा, मधेश प्रदेशका केही भूभागमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ। पश्चिम तराईका केही जिल्लामा अत्यधिक गर्मी कायम रहने चेतावनी पनि दिइएको छ।
विभागले सार्वजनिक गरेको चेतावनी नक्साअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा ‘सतर्क रहनुपर्ने’ अवस्था देखिएको छ भने बाँकी अधिकांश क्षेत्रमा सामान्य मौसम रहने अनुमान गरिएको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
कृषि, यातायात तथा दैनिक जनजीवनमा मौसमको प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। विशेषगरी नदी आसपास र पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मनसुन आगमनमा ढिलाइ
यस वर्ष नेपालमा मनसुन आगमन केही दिन ढिला हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्यतया नेपालमा मनसुन जुन १३ तारिख आसपास प्रवेश गर्ने गरे पनि यस वर्ष दक्षिण एशियाली क्षेत्रमा विकसित एल-निनो प्रणालीका कारण मनसुन कमजोर बनेको र नेपाल भित्रिन ढिलाइ हुन सक्ने विभागको विश्लेषण छ।
विभागका अनुसार हालसम्म पनि पश्चिमी वायु र स्थानीय वायुसँगै पूर्वीय वायुको प्रभाव कायम रहेकाले पूर्ण रूपमा मनसुनी प्रणाली सक्रिय हुन सकेको छैन। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मात्रै वर्षा गतिविधि देखिएको छ।
मौसमविद्हरूका अनुसार एल-निनो प्रभावका कारण दक्षिण एशियाभर मनसुन कमजोर बन्ने सम्भावना रहेको छ, जसको असर नेपालमा पनि पर्ने देखिएको छ। विगतका केही वर्षमा पनि एल-निनो प्रभावका कारण मनसुन आगमन ढिला भएको तथ्यांक विभागले सार्वजनिक गरेको छ।
एल-निनो प्रभावका कारण मनसुन आगमन ढिला भएका वर्षहरू
| वर्ष (साल) | मनसुन आगमन मिति |
|---|---|
| १९७३ | १८ जुन |
| १९८२ | २७ जुन |
| १९८३ | २४ जुन |
| १९८७ | १४ जुन |
| १९९२ | ३१ जुन |
| १९९७ | १८ जुन |
| २००२ | १५ जुन |
| २००९ | २३ जुन |
| २०१५ | १५ जुन |
| २०१९ | २० जुन |
| २०२३ | १४ जुन |
विभागले मनसुनी प्रणालीको निरन्तर निगरानी भइरहेको जनाएको छ र आगामी केही दिनभित्र थप अद्यावधिक सूचना जारी गरिने बताएको छ।
एल-निनो भनेको के हो ?
एल-निनो (El Niño) प्रशान्त महासागरको भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी तातो हुने एउटा प्राकृतिक मौसमी प्रक्रिया हो। यसको असर विश्वभरको मौसम प्रणालीमा पर्छ। विशेषगरी एशिया, अष्ट्रेलिया र दक्षिण अमेरिकाका देशहरूको वर्षा, तापक्रम र हावापानीमा यसले ठूलो प्रभाव पार्ने गर्छ।
सामान्य अवस्थामा प्रशान्त महासागरबाट चल्ने पूर्वी हावाले पानीलाई पश्चिमतर्फ धकेल्छ र दक्षिण एशियामा पर्याप्त वर्षा गराउँछ। तर एल-निनो सक्रिय हुँदा ती हावा कमजोर बन्छन् र वर्षा प्रणाली प्रभावित हुन्छ। त्यसका कारण नेपालसहित दक्षिण एशियामा मनसुन कमजोर हुने, ढिला भित्रिने वा अपेक्षाभन्दा कम वर्षा हुने सम्भावना बढ्छ।
नेपालमा एल-निनोको प्रभाव पर्दा मनसुन ढिला सुरु हुन सक्छ, वर्षा कम हुन सक्छ, गर्मी बढ्न सक्छ, खेतीपाती प्रभावित हुन सक्छ र खडेरीको जोखिम बढ्न सक्छ
मौसमविद्हरूका अनुसार एल-निनो हरेक केही वर्षमा देखिने प्राकृतिक प्रक्रिया भए पनि यसको प्रभाव कहिलेकाहीँ निकै बलियो हुन सक्छ। त्यसैले मनसुन, कृषि र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूले एल-निनोलाई विशेष रूपमा निगरानी गर्ने गर्छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर बदली र वर्षाको सम्भावना, 'एल-निनो' का काण मनसुन प्रवेश भने अझै अनिश्चित
-
विदेशीलाई छुट, नेपालीलाई खारेजी : ऊर्जा मन्त्री श्रेष्ठको सुशासन ?
-
नेप्से १२.२६ अंकले घट्दा कारोबार रकम ४ अर्ब ४१ करोड
-
अतिरिक्त रकम मागिए हटलाइन ११५१ मा उजुरी दिन ऊर्जामन्त्री श्रेष्ठको आग्रह
-
विकास बजेट खर्चमा सरकार असफल, ११ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै
-
लाङटाङको क्यान्जिन गुम्बामा पुग्यो केन्द्रीय प्रसारण लाइनको बिजुली