पाँचखाल खानेपानी आयोजना अन्तिम चरणमा
जलसरोकार
काभ्रेपलाञ्चोक: निर्धारित समयसीमाभन्दा तीन वर्षपछि निर्माणाधीन पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत पाँचखाल नगरपालिकाका छ हजार ३७ घरधुरीमा खानेपानी पुर्याईएको छ, जसबाट ३१ हजार ४१५ नागरिक लाभान्वित भएका छन् ।
आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ । विभिन्न कारणले समयमै आयोजना सम्पन्न हुन नसकेको हो । विशेष गरी कोरोना महामारी, मेलम्चीमा आएको बाढी तथा गत वर्ष असोजमा आएको बाढीपहिरोका कारण आयोजनाको पूर्वाधारमा ठूलो क्षति पुगेपछि काम लम्बिएको थियो ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार गत वर्षको बाढीपहिरोले मुहान क्षेत्र डुबानमा परेपछि करिब ७५ मिटर घेरापर्खाल भत्किनुका साथै ४८ स्थानमा वितरण पाइपलाइन र संरचनामा करिब एक करोड ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण गरी आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।
सुनकोसी नदीस्थित स्रोतबाट पानी ल्याई पाँचखाल नगरपालिका–९ डाँडागाउँमा निर्माण गरिएको ३९ लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्र तथा ओभरहेड ट्याङ्कीमा पानी सङ्कलन गरी परीक्षणसमेत पूरा भइसकेको छ । हाल प्रतिसेकेण्ड ८४ लिटरका दरले पानी प्रशोधन केन्द्रमा ल्याएर उपभोक्ताका घरमा वितरण गरिएको छ ।
अध्यक्ष लामिछानेका अनुसार केही थप परिवारमा पानी पुर्याउन अनुसन्धान भइरहेको छ भने पुसको दोस्रो सातासम्म आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । आयोजनाबाट प्रतिघण्टा तीन लाख दुई हजार ४०० लिटर पानी तान्न सकिने र लक्ष्यअनुसार २० घण्टा निरन्तर पानी तान्दा दैनिक ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिनेछ ।
आयोजनाअन्तर्गत सुनकोसी नदी किनारमा छ वटा इनार, चार–चार लाख लिटर क्षमताका दुई पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ओभरहेड ट्याङ्की, १० नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेसर ट्याङ्की र १५ पालेघर निर्माण सम्पन्न भएका छन् । साथै छ किलोमिटर मुख्य प्रसारण लाइन, ३७ किलोमिटरमध्ये ३५ किलोमिटर शाखा प्रसारण लाइन र २३० किलोमिटरमध्ये २२० किलोमिटर वितरण पाइपलाइनको काम सकिएको छ । हाल ६ हजार ३७ धारा सञ्चालनमा आएका छन् ।
सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते आयोजना निर्माण सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजना विसं २०७९ माघ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण ढिलाइ भएको हो ।
रु एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने यस आयोजनाबाट पाँचखाल नगरपालिका–२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का बासिन्दा लाभान्वित भएका छन् । आयोजनाबाट प्रतिव्यक्ति दैनिक १९२ दशमलव शून्य पाँच लिटर पानी उपलब्ध हुने प्रक्षेपण गरिएको छ । साथै सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुने लक्ष्य लिइएको छ ।
सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकार तथा उपभोक्ताबाट लागत साझेदारी गरिएको छ । पाँच प्रतिशत उपभोक्ताले प्रतिपरिवार १८ हजार रुपैयाँका दरले योगदान गरेका छन् भने २१४ विपन्न वर्गका उपभोक्ताले सहकारीमार्फत ऋण लिएर रकम बुझाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
निर्माण अघि नबढाउने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस
-
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
-
बीपीसीले प्यूठानमा सञ्चालनमा ल्यायो ५० किलोवाटको ग्रीन हाइड्रोजन पाइलट परियोजना
-
नेप्से लगातार चौथो दिन घट्यो, कारोबार रकम ६ अर्ब ४४ करोड नाघ्यो
-
राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
डेडिकेटेड र ट्रंक लाइन बक्यौता तत्काल असुल गर्न उनेपाका अध्यक्ष कुलमानको आग्रह