गुर्जामा ‘एक घर, एक धारा’
जलसरोकार
म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । धवलागिरि गाउँपालिकाले रु एक करोड ३० लाखको लागतमा निर्माण गरेको आयोजनाबाट गुर्जाका दुई सय ५२ घर, स्वास्थ्यचौकी र विद्यालयमा खानेपानीको धारा जडान भएको हो ।
धवलागिरि गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर छन्त्यालले सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिए । “पछिल्लो दुई वटा आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको योजना कार्यान्वयनका लागि फरकफरक निर्माण कम्पनीसँग रु एक करोड ३० लाखमा ठेक्का सम्झौता भएको थियो”, उनले भने, “घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएपछि गुर्जावासीको दैनिकी सहज भएको छ ।”
साउनाखोलाको मुहानमा इन्टेकबाट ६३ एमएमको तीन हजार ४८० मिटर मुख्य पाइपलाइनबाट ल्याइएको पानीलाई २५ हजार लिटर क्षमताको रिजर्भ टङ्कीमा सङ्कलन गरेर शाखा पाइपलाइनमार्फत वितरणको व्यवस्था मिलाइएको छ । खानेपानी वितरणलाई व्यवस्थित, पानीको मितव्ययी प्रयोग र आयोजनाको दीर्घकालीन सञ्चालन गर्न सबै धारामा मिटर जडान गरिएको छ ।
स्थानीयवासी सुकमाया छन्त्यालले घरघरमा खानेपानी आपूर्ति भएपछि समयको बचत र सरसफाइमा सहयोग पुगेको बताए । “यसअघि गाउँभरि चार वटा सार्वजनिक धाराबाट पानी ल्याउन पालो पर्खनुपर्दथ्यो”, उनले भने,“घर, घरमा पानी आउन थालेपछि हाम्रो दैनिकी फेरिएको छ ।”
आर्थिक वर्ष २०७९÷८० मा रु ५० लाख विनियोजन भएको गुर्जा बृहत् खानेपानी योजना कार्यान्वयनका लागि बेनीको बिएण्डडी निर्माण सेवाले रु ४४ लाख ७८ हजार ११२ मा ठेक्का सम्झौता गरेको थियो । यो वर्ष मुहान, मुख्य पाइपलाइन र रिजर्भ टङ्की निर्माण भएको थियो ।
आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड विनियोजन भएकामा बेनीको खुसी होम विल्डर्सले रु ८५ लाख ७८ लाख ४३७ मा शाखा पाइपलाइन, धारा निर्माण र मिटर जडान भएको धवलागिरि गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख लोकेन्द्र रावलले बताए ।
दुई दशकअघि आइएनएफ कार्यक्रममार्फत गुर्जामा निर्माण भएको खानेपानी आयोजनाका संरचनाहरु जीर्ण भएको थियो । सार्वजनिक धारा बन्नुअघि गुर्जावासीले कुवा र मुहानमा गएर पानी ओसार्ने गर्दथे । गुर्जा म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटा वडामध्ये हालसम्म सडक यातायातको सुविधा नपुगेको बस्ती हो । छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा दुर्गम र विकट क्षेत्रमा अवस्थित छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान
-
‘मोन्था आँधी’को प्रभाव क्रमशः कमजोर, अधिकांश स्थानमा मौसम सफा
-
काठमाडौं शहरीकरणको ५० वर्षे गुरुयोजना बन्दै, गुरुयोजना बमोजिम शहरीकरणका योजना अगाडि बढ्छन् : मन्त्री कुलमान घिसिङ
-
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी विस्तारमा जोड
-
८२ मेगावाट लोअर सोलु जलविद्युत् आयोजनाको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसनको अन्तिम परीक्षण सम्पन्न
-
नेपाल विद्युत् प्राधिकरण कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो : ऊर्जा मन्त्री कुलमान