सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

जलसरोकार
सोमबार, साउन ११, २०८३ | १२:१५:०६ बजे

 

काठमाडौँ : नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जाइकाका अध्यक्ष तानाका अकिहिकोले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो। उहाँले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नभई नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे ।

उनका अनुसार सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी क्षमता अभिवृद्धिका लागि नेपाल र जापानबीच नयाँ प्राविधिक सहयोग परियोजना सुरु गरिएको छ। हालै स्वीकृत उक्त परियोजनाले सुरुङ पूर्वाधार विकासमा दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।

यसै वर्ष नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको स्मरण गर्दै अध्यक्ष तानाकाले पारस्परिक विश्वास, सम्मान र सहकार्यमा आधारित सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए । उनले नागढुङ्गा सुरुङलाई दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको जीवन्त प्रतीकको रूपमा व्याख्या गरे । 

नेपालका लागि जापानी राजदूत माएदा तोरुले जापान सरकारको आधिकारिक विकास सहायता (ओडिए) तथा नेपाली प्राविधिक र श्रमिकहरूको अथक परिश्रमबाट सुरुङ निर्माण सम्पन्न भएको बताए । उनले यस परियोजनाले नेपाल र जापान सरकारबीचको विश्वासपूर्ण तथा दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाएको उल्लेख गरे । 

राजदूत माएदाले परियोजनामा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै यसबाट हस्तान्तरण भएको प्राविधिक ज्ञान, सीप तथा उच्च सुरक्षा मापदण्डले नेपालको भावी सुरुङ तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। आगामी वर्षहरूमा नेपालले आफ्नै दक्षतामा सुरुङ सञ्चालन तथा मर्मतसम्भार गर्न सक्ने क्षमता विकास गर्नु नै सहकार्यको प्रमुख उद्देश्य रहेको उनले बताए । 

कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा नाका दशकौँदेखि काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वार भए पनि अत्यधिक सवारी चाप र जोखिमपूर्ण सडकखण्डका रूपमा परिचित रहेको उल्लेख गरे । उनले सुरुङ सञ्चालनसँगै यात्राको समय उल्लेखनीय रूपमा घट्ने तथा ट्राफिक जाम र जोखिमपूर्ण यात्राको समस्या न्यूनीकरण हुने बताए ।

सचिव सिग्देलले जापानी र नेपाली इन्जिनियरहरूले भौगोलिक जटिलता तथा प्राविधिक चुनौतीबीच काँधमा काँध मिलाएर काम गरेकाले यो ऐतिहासिक परियोजना सफलतापूर्वक सम्पन्न भएको धारणा व्यक्त गरे । 

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ २ हजार ६८८ मिटर रहेको छ। सुरुआती सम्झौताअनुसार आयोजना २०८० वैशाख १३ गतेभित्र सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा निर्माणमा ढिलाइका कारण समयसीमा प्रभावित भएको थियो। २०७६ कात्तिक २८ गते ठेक्का सम्झौता भएको आयोजनाको निर्माण अवधि पछिल्लोपटक २०८२ कात्तिक ८ गतेसम्म थप गरिएको थियो।

यसअघि सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि दस्तुरसमेत निर्धारण गरिसकेको छ। सोअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। यस्तै मिनीबस तथा मिनी ट्रकका लागि क्रमशः १२५ र ८० रुपैयाँ, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि २६० र २०० रुपैयाँ तथा मल्टिएक्सल ट्रक र भारी उपकरणका लागि काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ।

नेपालको पहिलो सडक सुरुङका रूपमा सञ्चालनमा आएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौँ–नौबिसे सडकखण्डमा यात्रा समय घटाउनुका साथै सुरक्षित, सहज र दिगो सडक यातायात व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : सोमबार, साउन ११, २०८३ | १२:१५:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया