मनसुनजन्य विपद् पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना २०८३ तयार हुँदै
जलसरोकार
काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि ‘राष्ट्रिय कार्ययोजना २०८३’ तयार गर्ने भएको छ ।
यसका लागि प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन गरी काम सुरु गरिएको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतका अनुसार मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई व्यवस्थित बनाउन कार्यदल गठन गरिएको हो । कार्यदलमा विपद्सँग सम्बन्धित विभिन्न सङ्घीय मन्त्रालय, विभाग, प्राधिकरण तथा तीनवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।
सम्भावित मनसुनजन्य विपद्को प्रभावकारी सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले सङ्घ, प्रदेश र स्थानीय तह, सुरक्षा निकाय, साझेदार संस्था तथा विपद्सँग सम्बन्धित सरोकारवाला निकायलाई योजनाबद्ध ढङ्गले परिचालन गर्न कार्ययोजना तयार गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
कार्ययोजना निर्माण कार्यदलका सदस्य तथा प्राधिकरणका उपसचिव रामकुमार केसीले कार्ययोजनामा समेटिनुपर्ने विषयबारे सुझाव दिन सम्बन्धित प्रतिनिधिलाई एक हप्ताको समय दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार प्राप्त सुझावका आधारमा अर्को हप्ता कार्यदलको बैठक बसेर कार्ययोजनाको मस्यौदा अघि बढाइनेछ।
यसअघि गृहमन्त्री सुदन गुरुङले प्राधिकरणमा आयोजित कार्यक्रममा समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त बनाउने निर्देशन दिनुभएको थियो।
सरकारले मनसुन सुरु हुनुअघि नै आवश्यक तयारी पूरा गरी सम्भावित बाढी, पहिरो लगायत विपद्बाट हुने क्षति न्यूनिकरण गर्ने लक्ष्य राखेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नदी नियन्त्रणका लागि जैविक तटबन्ध निर्माण
-
मनसुनजन्य विपद् पूर्वतयारीका लागि राष्ट्रिय कार्ययोजना २०८३ तयार हुँदै
-
नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
तामाकोशी-५ को ठेक्का टुंगियो: ५.३२ अर्बमै इलेक्ट्रो-मेकानिकल काम, आयोजना कार्यान्वयनतर्फ
-
ऊर्जा क्षेत्रमा तत्काल गर्नुपर्ने कामहरू
-
याम्बालिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड