अबको २–३ दिनमा पश्चिम नेपालमा पनि मनसुन फैलिने, आइतबार रातिदेखि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : देशको पूर्वी तथा मध्य भूभागमा सक्रिय रहेको मनसुनी प्रणाली अब क्रमशः पश्चिम नेपालतर्फ विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ सार्वजनिक गरेको मौसम विश्लेषणअनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी २-३ दिनभित्र मनसुन फैलिने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहे पनि मनसुन विस्तार हुने क्रम तीव्र बन्दै गएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको आइतबार रातिको तीनदिने पूर्वानुमान नक्सा अनुसार रातिदेखि वर्षा देशका धेरै भूभागमा फैलिने सम्भावना छ। विशेषगरी कोशी, मधेश, बागमती, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने संकेत देखिएको छ भने कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पनि छरिएरदेखि धेरै स्थानसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसले मनसुन क्रमशः देशभर सक्रिय बन्दै गएको संकेत गरेको छ।
यद्यपि मौसम चेतावनी नक्साअनुसार तत्काल देशका अधिकांश जिल्ला हरियो अर्थात् ‘विशेष चेतावनी आवश्यक नरहेको’ अवस्थामा रहेका छन्। कोशी प्रदेशका दक्षिण-पूर्वी केही जिल्लालाई भने पहेँलो (Be Updated) श्रेणीमा राखिएको छ, जहाँ स्थानीय रूपमा वर्षाको प्रभाव बढ्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन विभागले आग्रह गरेको छ।
महाशाखाले मनसुन विस्तारसँगै आगामी दिनहरूमा वर्षाका गतिविधि थप बढ्ने जनाएको छ। स्थानीय रूपमा बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहाडी भेग र कमजोर भू-बनोट भएका स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
समग्रमा, मौसमविद्हरूका अनुसार नेपालमा यस वर्ष मनसुन विस्तारको प्रक्रिया क्रमिक रूपमा अघि बढिरहेको छ। पश्चिम नेपालमा मनसुन प्रवेशसँगै आगामी केही दिन वर्षाका गतिविधि अझ व्यापक हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता