सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पूर्वी नेपालमा मनसुनको प्रभाव कायम, भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह

जलसरोकार
मंगलबार, असार ३०, २०८३ | १४:५७:१७ बजे

 

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा आज पनि मनसुनको प्रभाव कायम रहने जनाउँदै मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उनले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । 

महाशाखाले जारी गरेको सूचनामा वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने उल्लेख गर्दै नागरिकलाई मौसमसम्बन्धी पछिल्ला सूचनाबारे अद्यावधिक रहन अनुरोध गरिएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ तराई क्षेत्र नजिक अवस्थित छ, जसका कारण देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ।

तीन दिनको मौसम पूर्वानुमान

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

बिहीबार पनि देशभर बदलीको अवस्था कायम रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

महाशाखाले विशेषगरी नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा कमजोर भू–बनोट भएका स्थानका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : मंगलबार, असार ३०, २०८३ | १४:५७:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया