सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मनसुन सक्रिय, आज पनि देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

जलसरोकार
सोमबार, असार २२, २०८३ | ०९:११:४१ बजे

 

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

विभागका अनुसार हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान, कोशीको तराई तथा मधेसका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

यस्तै, मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेश, कर्णालीका पहाडी भू–भाग तथा बागमतीका पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपासका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्रकाशित मिति : सोमबार, असार २२, २०८३ | ०९:११:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया