बाह्रै महिना खानेपानीको समस्यामा स्थानीय, बजेट अभावमा लिफ्ट खानेपानी अलपत्र
जलसरोकार
बैतडी: दोगडाकेदार गाउँपालिकाको वडा नं २ बडिया र कणेलीगाउँमा खानेपानीको समस्या भएको छ । गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा खानेपानी समस्या जारी रहेको छ ।
तीगाउँका तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएको स्थानीयवासी करनसिंह भाटले जानकारी दिए । तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी)का सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको उनले बताए । उनले भने,“खानेपानीका लागि निकै समस्या छ । एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन् । यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ ।”
एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल भने जीर्ण भएको उनले बताए । दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि भने कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ ।
गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिने गरेका छन् । खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताए । उनले भने,“बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो । यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन ।”
खानेपानीका लागि घण्टौँ लगाएर ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताए । उनले भने,“खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ । पानी भर्नमै रातदिन बित्ने गर्छ ।” बडियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु गरे पनि अधुरै रहेको छ । उक्त योजनाले बजेट अभावका कारण अहिलेसम्म पूर्णता नपाएको हो । बजेट अभावका कारण बडियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए ।
उनले भने, “प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो । हाल भने खानेपानीको निकै समस्या छ ।”
बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौँसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाइ छ । उनले भने,“योजना निर्माणका काम क्रमागत रूपमा चलिरहेको छ । आगामी वर्ष सम्पन्न हुने आस छ ।”
बडियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि रु तीन करोड ९६ लाखमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताए । उनले भने,“उक्त योजना चारवटा ‘स्किम’मा काम भइरहेको छ । यसमध्ये तीनवटा ‘स्किम’ लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ । निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने