भोजपुरको सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सुरु, वर्षौँदेखिको पानी अभाव हट्ने अपेक्षा
जलसरोकार
भोजपुर : भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ। बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित चालु आर्थिक वर्षदेखि आयोजना कार्यान्वयनमा ल्याइएको हो।
आयोजना सम्पन्न भएपछि सुन्तले क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान हुने अपेक्षा गरिएको छ। हालसम्म आयोजनाअन्तर्गत २० घनमिटर क्षमताको एकवटा पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने अन्य संरचना निर्माणको काम क्रमशः अघि बढिरहेको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका सबइन्जिनियर सञ्जीवकुमार यादवका अनुसार अब थप दुईवटा पानी ट्याङ्की निर्माण, मुख्य पाइपलाइन विस्तार तथा वितरण लाइन जडानको काम बाँकी रहेको छ।
“काम चरणबद्ध रूपमा अघि बढिरहेको छ,” उने भने, “आगामी आर्थिक वर्षभित्र सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी नियमित रूपमा खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ।”
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजनाको अनुमानित लागत करिब एक करोड रुपैयाँ रहेको छ। आयोजना सम्पन्न भएपछि बजार क्षेत्रका करिब २५ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
स्थानीयवासीका अनुसार वर्षायाममा खानेपानीको समस्या खासै नदेखिए पनि हिउँदयाममा करिब पाँच महिनासम्म पानीको अभाव गम्भीर बन्ने गरेको छ। टाढाका स्रोतबाट पानी बोकेर ल्याउनुपर्ने, असुरक्षित पानी प्रयोग गर्नुपर्ने तथा दैनिक रूपमा धेरै समय खर्चिनुपर्ने बाध्यताले स्थानीयको जनजीवन प्रभावित हुँदै आएको थियो।
स्थानीयवासी दशरथ राईले लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछि वर्षौँदेखिको समस्या स्थायी रूपमा समाधान हुने विश्वास व्यक्त गरे । “हामीले धेरै वर्षदेखि पानीको अभाव झेल्दै आएका छौँ,” उनले भने, “आयोजना पूरा भएपछि घरघरमा धारा पुग्नेछ र दैनिक जीवन सहज बन्नेछ भन्ने आशा गरेका छौँ।”
त्यस्तै अर्का स्थानीय खगेन्द्रकुमार ओझाले विशेषगरी हिउँदयाममा पानी अभावले स्थानीयबासीसँगै पर्यटकसमेत प्रभावित हुने गरेको बताए । “पाँच महिनासम्म निकै समस्या हुन्थ्यो,” उने भने, “पानी ल्याउन धेरै समय खर्च गर्नुपर्थ्यो। आयोजना सुरु भएपछि हामी उत्साहित भएका छौँ। निर्माण सम्पन्न भएपछि यो समस्या अन्त्य हुने अपेक्षा गरेका छौँ।”
लिफ्ट प्रविधिमा आधारित यस आयोजनामार्फत बस्तीभन्दा तल रहेको मुहानको पानी मोटर प्रणाली प्रयोग गरी माथिल्लो बस्तीमा पुर्याइनेछ। पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने सुन्तले क्षेत्रमा सुरक्षित, स्वच्छ र नियमित खानेपानी सुविधा विस्तार भएसँगै स्थानीय जनजीवनमा सुधार आउने र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार स्वच्छ खानेपानीको सहज उपलब्धताले पर्यटकलाई आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन मद्दत पुग्नेछ भने क्षेत्रको समग्र आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२५ वर्षअघि ९/११ बाट जोगिएका ७३ वर्षीय अमेरिकी नागरिक अहिले रसुवा–तिब्बत सीमाको विपद्पछि बेपत्ता
-
आज देशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना, केही क्षेत्रमा सावधानी अपनाउन आग्रह
-
नेप्से २८ अंकले बढ्दा ४ अर्ब ३६ करोडको कारोबार
-
‘कानुन बाधक भए नयाँ ल्याउँछौँ, ढुक्क भएर लगानी गर्नुस्’ : प्रधानमन्त्री शाह
-
पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउँछौँ : अर्थमन्त्री वाग्ले
-
चिलिमे उद्धारमा कुलमान घिसिङको जानकारी : सुरुङभित्रबाट आएको चिसो हावा र प्रतिध्वनिले बढायो आशा, विद्युतगृह पुग्न १०० मिटर बाँकी