दुई दिनमै काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियसमा झर्यो
जलसरोकार
काठमाडौँ : काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो दुई दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज ३.५ डिग्री सेल्सियसमा झरेको छ ।
विभागका तथ्याङ्कअनुसार यही पुस १९ गते काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे ३.५ डिग्री मापन गरिएको हो। हिजो काठमाडौँको तापक्रम ४ डिग्री थियो ।
मौसमविद् विनु महर्जनका अनुसार हालको तापक्रम यस वर्षकै न्यूनतम हो र जनवरी महिनाभरि तापक्रम क्रमशः घट्दो क्रममा रहने सम्भावना छ । काठमाडौँसँगै देशका धेरै भूभागमा चिसो बढ्दै गएको उनले बताए ।
पुस महिना सुरु भएयता नै तापक्रम घट्दो क्रममा रहेकामा दोस्रो र तेस्रो सातामा थप गिरावट देखिएको छ । पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो भने पुस १५ गते ४.८, पुस १७ गते ४.६ र पुस १९ गते ४.५ डिग्रीमा झरेको थियो ।
आजको अभिलेखअनुसार देशभर सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। पुस १९ गते जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री थियो ।
अन्य स्थानमा पनि तापक्रम घटेको छ। डडेलधुरामा २.७ बाट २.१ डिग्री, दिपायलमा ६ बाट ४.४, वीरेन्द्रनगरमा ५ बाट ३.८, घोराहीमा ८ बाट ५.७, पोखरामा ८.५ बाट ७.९ र ओखलढुङ्गामा ४.९ बाट ४.३ डिग्रीमा झरेको छ । यद्यपि ताप्लेजुङ, सिमरा र धनकुटामा भने तापक्रम थोरै बढेको विभागले जनाएको छ । देशभर अधिकतम तापक्रम २२ डिग्री सेल्सियसभन्दा तल नै रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहरको प्रभाव कायमै रहेको छ र यो क्रम अझै केही दिन जारी रहनेछ । धेरै स्थानमा दिउँसोपछि मौसम खुल्दै जाने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा केही स्थानमा हिमपात भइरहेको छ भने कतिपय ठाउँमा खोलाहरू समेत जम्न थालेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता