जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

केयूकेएलमा पाँचवटै ट्रेड युनियनको संयुक्त आन्दोलन, प्रमुख कार्यकारी अधिकृत पौडेलको राजीनामा माग

जलसरोकार
सोमबार, जेठ ०५, २०८२ | १८:५१:५० बजे

काठमाडौं : उपत्यकाको खानेपानी आपूर्तिको जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेललाई बर्खास्त गर्ने मागसहित क्रियाशील पाँचवटै ट्रेड युनियनहरुले संयुक्त आन्दोलन सुरु गरेका छन् ।
गत वैशाख १५ गते केयूकेएलका पाँचवटै युनियनले वैशाख ३१ गतेभित्र पदत्याग गर्न अल्टिमेटम दिएका थिए । प्रमुख कार्यकारी अधिकृत पौडेलले पदत्याग नगरेपछि ट्रेड युनियनहरुले गत जेठ १ देखि संयुक्त रुपमा आन्दोलन गरेका हुन् । 
पहिलो चरणको आन्दोलनअन्तर्गत यो साताभरि प्रमुख कार्यकारी पौडेलको कार्यकक्ष घेराउ सुरु गरिएको छ । हरेक दिन कार्यकक्ष घेर्ने समय आधा घण्टा बढाउँदै सोमबार दुई घण्टा घेरिएको कर्मचारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार घेराउबाट पनि पदत्याग नगरे अर्काे सातादेखि प्रमुख कार्यकारीको कार्यकक्षमा तालाबन्दी गरिनेछ । 
केयूकेएलका पाँचवटै युनियन र व्यवस्थापनबीच गत २०८१ जेठ ४ गते केयूकेएल सुधारदेखि कर्मचारीका वृत्त विकाससम्बन्धी ३२ बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यान्वयनका लागि ट्रेड युनियनहरुले गत २०८१ साउन ४ गते ताकेता गर्दा पनि प्रमुख कार्यकारी पौडेलले वेवास्ता गरेको र गत पुस ९ गते पुनः ध्यानाकर्षण गराएको गत वैशाख १५ गते दिइएको अल्टिमेटम पत्रमा उल्लेख छ । 
सहमति कार्यान्वयन गर्न उदासिनता देखाएपछि गत मा २३ गते खानेपानी मन्त्री प्रदीप यादवको उपस्थितिमा ट्रेड युनियनहरुले राजीनामा मागेका थिए । 
गत फागुन १ गते कम्पनीको वार्षिकोत्सव समारोहसम्म आउँदा पनि सहमति कार्यान्वयन  गर्न पौडेल अनुदार भएपछि सार्वजनिक मञ्चबाटै राजीनामा दिन माग गरिएको थियो । 
ज्ञापन पत्रमा केय्रकेएलको क्षमता विकास लागि व्यावसायिक योजना मुख्य अंगको रुपमा कार्यान्वयन गर्ने जिम्मेवारी तथा दायित्वसहित प्रमुख कार्यकारीलाई कम्पनीको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि सञ्चालक समितिले आकर्षक सेवा सुविधासहित नेतृत्व सुम्पिएको स्मरण गराएको थियो । 
केयूकेएल सञ्चालक समितिले विवादास्पद अवस्थामा रहेको प्रमुख कार्यकारी अधिकृत छनौट प्रक्रिया टुंगो लगाउँदै २०८० चैत २ गते पौडेललाई नेतृत्व सुम्पेको १३ महिना पूरा भएको छ । 
उपत्यकाको खानेपानी वितरण व्यवस्थापनको क्षेत्रमा ज्ञान तथा अनुभव नभए पनि वित्तीय क्षेत्रको पृष्ठभूमि भएकाले आर्थिक स्रोत जुटाई कम्पनीलाई प्रशासनिक तथा प्राविधिक क्षेत्रमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएकोमा उनको १३ महिने कार्याकाल निराशाजनक रहेको आरोप ट्रेड युनियनहरुको छ ।
प्रमुख कार्यकारी अधिकृत पौडेलमाथि ट्रेड युनियनहरुले लगाएका आरोपहरुमा कार्यकारत कर्मचारीहरुको पेशागत सुरक्षा तथा वृत्ति विकास सुचारु गर्न असफल देखिएको, खानेपानी उत्पादन, प्रशोसन तथा वितरण र महसुल बिलिङमा काम गर्ने तह १ देखि ३ सम्मका पदहरुको जनशक्ति व्यवस्थापनमा असफल भएको, प्रचलित श्रम ऐन, २०७४, ट्रेड युनियन ऐन २०४९, कर्मचारी प्रशासन विनियमावलीमा भएका व्यवस्थालाई अवज्ञा गर्दै ट्रेड युनियनहरुका हक हनन गरेको आदि छन् । 
त्यसैगरी मेलम्ची खानेपानी वितरण व्यवस्थापन गर्न निर्माण गरिएको ‘डिष्ट्रिक मिटरिङ एरिया इन्टिग्रेसन एण्ड डिसइन्टिग्रेसन’ गर्नेसम्बन्धी ठोस कार्य योजना पेश गर्न पौडेल असफल भएको कर्मचारीहरुको आरोप छ । 
२०८१ सालको बाढीले खानेपानीका क्षतिग्रस्त संरचनाहरुको मर्मत सम्भार तथा पुनःस्थापना कार्य सम्पन्न गर्न असफल भएको, ३० करोड लिटर खानेपानी वितरण हुँदासमेत बिलिङ र नगद संकलन वृद्धिको लागि ठोस कार्ययोजना प्रस्तुत गर्न पनि पौडेल असफल भएको ट्रेड युनियनहरुको संयुक्त आरोप छ । 
उनीहरुले विगत ३० वर्षदेखि उपत्यकाको खानेपानी व्यवस्थापनको क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई विश्वास नगर्ने, अन्तरविरोध सिर्जना गर्ने, कर्मचारीहरुलायृ विश्वासमा लिई सामूहिक कार्यमा काम गर्नुको साटो मनोबल कमजोर हुने गतिविधि गरेको आरोप पनि पौडेलमाथि लगाएका छन् । 
क्रियाशील ट्रेड युनियनहरुसँग वार्ता र सम्वादको ढोका बन्द गरी निजी कम्पनीको रुपमा संस्था सञ्चालन गरेको आरोप पौडेलमाथि छ । 
 

 

प्रकाशित मिति : सोमबार, जेठ ०५, २०८२ | १८:५१:५० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया