सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अविरल वर्षाले देशभर सडक र नदी तटीय क्षेत्रमा संकट, जनजीवन प्रभावित

जलसरोकार
मंगलबार, साउन १३, २०८२ | १०:२७:५२ बजे

 

काठमाडौं: गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अबरुद्ध हुनुका साथै नदी तथा खोलामा पानीको सतह बढ्दा जनजीवन प्रभावित बनेको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि रिडी–वामीटक्सार सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

बाढीले लेदो बगाएपछि रिडी हुँदै बागलुङको बुर्तिवाङ जाने सवारीसाधन ठप्प छन् । अहिले जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको भए तापनि अविरल वर्षाले सडक खुलाउन कठिनाइ भएको जनाइएको छ ।

गुल्मीमै अवस्थित बडिगाड खोलामा पनि लगातार वर्षाले पानीको बहाव बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले खोलातटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा सर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीका एक सय ८० भन्दा बढी स्थान उच्च बाढी तथा पहिरोको जोखिममा रहेका छन् ।

यसै, बैतडीको पाटन नगरपालिका–४ जेउडेमा सोमबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार जेउडे मोडमा सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरोका कारण विद्युत्को पोलसमेत जोखिममा परेको छ । मोड सुधारका क्रममा सडक खनेपछि यस क्षेत्रमा बारम्बार पहिरो खस्ने समस्या देखिएको हो ।

सर्तक रहन प्रशासनको आग्रह

सम्बन्धित जिल्लाका प्रशासन कार्यालयहरूले सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन, नदी तथा खोलानजिक नजान, र आपतकालीन अवस्थामा प्रशासन वा सुरक्षाकर्मीलाई तत्काल खबर गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन १३, २०८२ | १०:२७:५२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया