अविरल वर्षाले देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
जलसरोकार
काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक भासिँदा राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलानजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिएपछि कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खसेपछि बेनी–जोमसोम सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरो खसेपछि भालुवाङ–लिवाङ सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रुखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रुले आफूले यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया
भर्खरै
-
भदौमा बैंकको निक्षेप ब्याजदर घट्यो, ५ बैंकले गरे कटौती
-
अविरल वर्षाले देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
-
म्याग्दीको पर्यटकीयस्थल आलडाँडामा पुग्यो केन्द्रीय विद्युत् प्रसारण लाइन
-
जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ५५ मिटर लामो ट्रस पुल निर्माण हुँदै
-
निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिन विद्यमान कानुन नै पर्याप्त : सरोकारवाला
-
कोशीदेखि सुदूरपश्चिमसम्म मनसुनी वर्षा, सतर्क रहन आग्रह