बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा अधुरै
जलसरोकार
भोजपुर : भोजपुर जिल्लाको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी आयोजनाको काम वर्षौँदेखि अधुरै रहेको छ । स्थानीयवासीको दशकौँदेखिको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्यसहित सुरु गरिएको यो महत्वाकांक्षी आयोजना पर्याप्त र निरन्तर बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।
आर्थिक वर्ष २०७५/७६ देखि निर्माण सुरु भए पनि अपेक्षित बजेट नआउँदा कामले गति लिन नसकेको निर्माण उपभोक्ता समितिका सचिव राजेन्द्र राईले बताए । उनका अनुसार आयोजना ठूलो मात्र होइन, प्राविधिक रूपमा पनि जटिल भएकाले चरणबद्ध र पर्याप्त लगानी आवश्यक पर्ने भए पनि हरेक वर्ष अत्यन्त न्यून बजेट मात्रै विनियोजन हुँदै आएको छ ।
“यो आयोजनाले हजारौँ नागरिकको जीवनस्तर बदल्न सक्छ,” सचिव राईले भने, “तर कूल लागतको तुलनामा वार्षिक रूपमा आउने बजेट अत्यन्तै न्यून छ । यही कारण निर्माण अवधि लम्बिँदै गएको छ र स्थानीयवासीले अझै पनि पानीको अभाव झेल्नुपरेको छ ।”
हालसम्म आयोजनाअन्तर्गतका केही संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन् । तर आयोजनाको मुटु मानिने एउटा मुख्य ट्याङ्की निर्माण र करिब चार किलोमिटर लामो मुख्य पाइपलाइन विस्तारको काम अझै बाँकी छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि विनियोजित रु ५५ लाख बजेट बाँकी काम सम्पन्न गर्न नपुग्ने निर्माण उपभोक्ता समितिको ठहर छ ।
स्थानीय बासिन्दाको पिउने पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले पिखुवा खोलाबाट सात तहमा लिफ्टिङ प्रणाली प्रयोग गरी पानी बस्तीमा पु¥याउने योजना बनाइएको हो । भौगोलिक रूपमा विकट, उचाइमा रहेका बस्तीहरूमा पानी पु¥याउन लिफ्ट प्रणाली अनिवार्य रहेकाले आयोजनाको लागत स्वाभाविक रूपमा उच्च भएको छ ।
यो आयोजना सम्पन्न भएपछि हतुवागढी गाउँपालिकाका वडा नं १, ५ र ६ मा बसोबास गर्ने करिब एक हजार ४६९ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। तर हाल ती वडाका स्थानीयवासी बर्सात र सुक्खा दुवै मौसममा खानेपानीको चरम अभाव भोग्न बाध्य छन् । कतिपय बस्तीमा अझै पनि घण्टौँ हिँडेर पानी बोकेर ल्याउनुपर्ने बाध्यता कायमै रहेको स्थानीय बताउँछन् ।
आयोजनाको प्रारम्भिक लागत अनुमान रु ३० करोड ९० लाख ८२ हजार रहेको छ । यति ठूलो लागत र दीर्घकालीन महत्व बोकेको आयोजना भए पनि सन्तुलित र समयमै बजेट नआउँदा निर्माण कार्य वर्षौँदेखि अधुरो रहँदै आएको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्थानीय सरकार र निर्माण उपभोक्ता समितिले सङ्घीय तथा प्रदेश सरकारसँग आवश्यक बजेट सुनिश्चित गरी आयोजना शीघ्र सम्पन्न गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।
स्थानीयका अनुसार आयोजना समयमै सम्पन्न हुन सके पिउने पानीको समस्या समाधान हुनुका साथै स्वास्थ्य, सरसफाइ र समग्र जीवनस्तरमा उल्लेखनीय सुधार आउनेछ। तर पर्याप्त बजेट सुनिश्चित नहुन्जेलसम्म होम्ताङ–पिखुवाका बासिन्दाको तिर्खा मेटिने आशा अझै टाढै देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङको अडानलाई आयोगको बल, पञ्चकन्या मुद्दामा नियमन फैसलाले भन्यो, बक्यौताधारी उम्किन सक्दैनन्
-
नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
-
प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै उज्यालो नेपालले संगठन विस्तार र आगामी चुनावी तयारी तीव्र बनाउने
-
डलर पीपीएमा चम्किएको खिम्ती, अहिले १ करोड ३२ लाख रुपैयाँ घाटामा
-
बुटवल पावरको नाफा पाँच वर्षमा आधाभन्दा बढी खुम्चियो, तर लगानी बढ्दै; नगद र तरलतामा दबाब
-
लक्ष्यभन्दा धेरै पछाडि राजस्व संकलन, फागुनसम्म ७ खर्ब ५२ अर्ब मात्रै उठ्यो