सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मङ्गलबार रातिदेखि व्यापक हिमपात, हिमाली जिल्ला सेताम्मे

सडक र हवाई सेवा प्रभावित, किसानमा बाली सप्रने आशा

जलसरोकार
बुधबार, माघ १४, २०८२ | १३:४०:२१ बजे

 

काठमाडौं : मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न हिमाली तथा उच्च पहाडी भेगमा भारी हिमपात भएको छ । निरन्तर परेको हिमपातले डाँडाकाँडा पूरै सेताम्मे बनेका छन् भने अधिकांश स्थानमा वर्षासमेत भएको छ ।

मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, बैतडी, बागलुङ, हुम्ला, मुगु, डोल्पा, जुम्ला कालिकोट र बाजाुर जिल्लामा मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको जल तथा मौसम विभागले जनाएको छ  ।

भारी हिमपातका कारण मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । कतिपय स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेकाले सवारी आवागमन पूर्णरूपमा ठप्प भएको जनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोट जिल्लामा मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ ।

हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् । चिसो अत्यधिक बढेपछि स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको प्रहरीले जनाएको छ ।

उता बाजुराबाट प्राप्त विवरणअनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका तथा हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट तथा बुढीनन्दा नगरपालिकाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि स्थानीय आगो तापेर घरभित्रै बस्न बाध्य भएका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीका अनुसार वर्षासहितको हिमपातले गहुँ बाली सप्रने भएकाले किसानमा उत्साह थपिएको छ । “लामो समयको खडेरीपछि परेको हिमपातले खेतीपातीका लागि ठूलो राहत मिल्नेछ,” उनले बताए ।

हिमपात अझै जारी रहेकाले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभिगले आग्रह गरेको छ । 

प्रकाशित मिति : बुधबार, माघ १४, २०८२ | १३:४०:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया