सगरमाथा क्षेत्रमा बाक्लो हिमपात
जलसरोकार
सोलुखुम्बु,: सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भइरहेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार दिङ्बोचेभन्दा माथि बाक्लो हिउँले ढाकेको छ र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले पर्यटकहरू होटलभित्रै सीमित छन् । “बाहिर निस्कन सम्भव छैन,” उनले बताए ।
हाल सगरमाथा क्षेत्रमा करिब तीन हजारभन्दा बढी विदेशी पर्यटक रहेका अनुमान गरिएको छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला पुगेका थिए । हिमपातका कारण बाटो अवरुद्ध भई दृश्यता घटेपछि पर्यटकहरू हराउने जोखिम बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले मौसम प्रतिकूल भएकाले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार सबै पर्यटकलाई होटल वा बस्तीमै सुरक्षित बस्न अनुरोध गरिएको छ । प्रशासनले सम्भावित उद्धारका लागि टोली तयारी अवस्थामा राखेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा रहेको अस्थायी प्रहरी पोस्टसँग निरन्तर सम्पर्कमा रहँदै पर्यटकहरूको अवस्थाबारे जानकारी लिइँदै छ । दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान छ ।
लगातारको हिमपात र वर्षाले खुम्बुक्षेत्रमा चिसो बढेको छ र जनजीवन प्रभावित भएको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भने, “आज बिहानदेखि गाउँ हिउँले ढाकिएको छ, सबैजना घरभित्रै छौँ ।”
पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान बनेको छ । खुम्जुङकी शिक्षक कोपिला घतानीले भनिन्, “हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ ।”
लेखकको बारेमा