सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

गोरखाको उत्तरी भेगमा भारी हिमपात

जलसरोकार
बुधबार, माघ १४, २०८२ | १३:२३:०० बजे

 

गोरखा : गोरखा जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज बिहान करिब ३ः०० बजेदेखि हिमपात सुरु भएको स्थानीयवासीले बताएका छन् । निरन्तर परेको हिमपातले चुमनुब्री गाउँपालिकाका उच्च हिमाली क्षेत्र सेताम्मे बनेका छन् ।

स्थानीयका अनुसार चुमनुब्री गाउँपालिका–१ का साम्दो र सामागाउँ, वडा नं. २ का ल्हो र स्याला, वडा नं. ६ को चुम्चेत तथा वडा नं. ७ का नौवटै गाउँबस्तीमा हिमपात भएको छ । कतिपय स्थानमा करिब एक फिटसम्म हिउँ जमेको बताइएको छ ।

चुमनुब्री–७ का स्थानीय पासाङफुञ्जो लामाका अनुसार बिहान ३ः०० बजेदेखि हिउँ पर्न थालेपछि गाउँलेहरू निकै खुसी भएका छन् । “बिहानैदेखि हिउँ पर्न सुरु भयो,” उनले भने, “हिउँ परेपछि सबै गाउँलेहरू खुसी छन् ।”

हिमपातका कारण खेतीपानीमा सकारात्मक प्रभाव पर्ने स्थानीयको विश्वास छ । लामाका अनुसार हिउँ परेपछि धुलो उड्ने समस्या कम हुने, हुरीबतास नचल्ने र आगलागीको जोखिम घट्ने भएको छ । “अहिले सम्म हुरीबतासले घरको आँगनमै आगो फुक्न नसक्ने अवस्था थियो,” उनले भने, “अब हिउँ परेपछि आगलागीको डर हटेको छ ।”

मङ्सिरमा लगाइएको गहुँबालीले पानी पाउने र वन क्षेत्रमा रहेका झारलहरूले पनि आवश्यक चिस्यान पाउने भएकाले हिमपातलाई राहतको रूपमा लिइएको छ । लामो समयदेखि पानी नपर्दा सुक्दै गएका वनस्पति पनि अब पुनः हरियालीतर्फ फर्किने स्थानीयको अपेक्षा छ ।

हिमपातपछि गाउँलेहरूको दैनिकीमा समेत परिवर्तन आएको छ । चिसो बढेसँगै अधिकांश स्थानीय घरभित्रै आगो तापेर बसेका छन् भने उच्च हिमाली बस्तीहरूमा जनजीवन केही प्रभावित भएको छ ।

प्रकाशित मिति : बुधबार, माघ १४, २०८२ | १३:२३:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया