सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जलसरोकार
सोमबार, साउन १८, २०८३ | १२:५६:३३ बजे

 

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागका प्रवक्ता विभूति पोखरेलले विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको र केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको जानकारी दिए । 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख गरिएको छ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेषगरी सुन्तला रङले सङ्केत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहने जनाएको छ।

महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

यस्तै ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) लगायत जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना र पूर्वसूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

मध्यम जोखिम रहेका जिल्लाका नागरिकलाई नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे अद्यावधिक सूचना लिँदै सुरक्षित रहन विभागले आग्रह गरेको छ।

प्रकाशित मिति : सोमबार, साउन १८, २०८३ | १२:५६:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया