सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मनाङ र मुस्ताङमा भारी वर्षा

जलसरोकार
मंगलबार, कात्तिक ११, २०८२ | १६:२५:०१ बजे

 

काठमाडौं: पश्चिमी वायुको सक्रियता र अरब सागरबाट विकसित न्यून चापीय प्रणालीका कारण आज देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ । विशेषगरी हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने भारी वर्षा अभिलेख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा मापन गरिएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा मानिन्छ ।

डोल्पाको दुनैमा ३६ मिलिमिटर र जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पछिल्ला १२ घण्टामा बागलुङ र पर्वतमा २४, प्यूठानमा २१.८, सिन्धुपाल्चोकमा २९.६, चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।

हिमाली भू–भागमा बाक्लो हिमपात र तल्लो भेगमा मध्यम वर्षा भइरहेको विभागको विवरणमा उल्लेख छ । काठमाडौँ उपत्यकामा भने हल्का वर्षासँगै चिसो बढेको छ ।

विभागले आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरिन् । उनीले हिमाली जिल्लाहरूमा यात्रु तथा स्थानीय बासिन्दालाई जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिन् । 

प्रकाशित मिति : मंगलबार, कात्तिक ११, २०८२ | १६:२५:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया