बूढीगण्डकीको बाढीले छ पुल बगायो, कम्तीमा १० जना सम्पर्कविहीन
जलसरोकार
गोरखा : बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले घरबस्तीसमेत बगाउँदा स्थानीयवासी प्रभावित भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको उनले जानकारी दिए ।
बाढीका कारण ग्रामीण क्षेत्रका बस्तीलाई जोड्ने झोलुङ्गे पुलहरूमा पनि क्षति पुगेको छ। माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ। पुलहरू बगाएपछि स्थानीय बस्तीबीचको आवागमन प्रभावित भएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ। यसबाट स्थानीयवासीको घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ। बूढीगण्डकीको बाढीले जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा पनि क्षति पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
बाढीमा परेर कम्तीमा १० जना सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। बाढीले पुल र घर बगाउनुका साथै विभिन्न बस्तीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको अवस्था गम्भीर बनेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनामा विपद् प्रतिकार्यको नमुना अभ्यास
-
बूढीगण्डकी बाढीबारे सेनाको प्रतिवेदन : सुक्खा पहिरोले थुनिएको नदी खुलेपछि भीषण बाढी
-
बूढीगण्डकीको बाढी : टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ कर्मचारीले भागेर जोगाए ज्यान
-
बूढीगण्डकीको बाढीले छ पुल बगायो, कम्तीमा १० जना सम्पर्कविहीन
-
बूढीगण्डकीमा भीषण बाढी : सल्लेरी बजार डुबानमा, ३५ घर बगायो, पुलहरूमा क्षति
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना