दाङ, बाँके र बर्दियामा अति भारी वर्षा, बाढी–डुबानको जोखिम उच्च
जलसरोकार
काठमाडाैँ : पछिल्ला १२ घण्टामा दाङ, बाँके र बर्दिया जिल्लामा अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी २७७ मिलीमिटर वर्षा मापन गरिएको छ । बाँकेको सिक्टामा २०० मिलीमिटर र बर्दियाको मानपुरमा १६७ मिलीमिटर वर्षा भएको छ ।
दाङ र बाँकेमा यो वर्षालाई अति भारी मानिन्छ भने बर्दियामा धेरै भारी वर्षाको श्रेणीमा राखिएको छ । खासगरी दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा मापन भइसकेको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार पश्चिम नेपालमा दिउँसो र रातिको समयमा अझै बढी वर्षा हुने सम्भावना छ । “साना प्रणालीहरू सक्रिय भएकाले तत्कालको प्रभाव बढी देखिएको हो,” उनले बताए “तर मनसुनको न्यूनचापीय प्रणाली देशभर सक्रिय रहेकाले केही दिन अझै व्यापक वर्षा हुनसक्छ ।”
वर्षासँगै दाङको तुलसीपुर, अम्बापुर, जलकुण्डी क्षेत्र, बाँकेको पश्चिम राप्ती र सिक्टा, बर्दियाको मानपुर लगायत क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस्ता क्षेत्रमा बहने बबई, पश्चिम राप्ती, डुडुवा लगायतका साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालका तराई भूभाग हुँदै सर्ने क्रममा रहेकाले देशभर बदली छाएको छ । लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तथा बागमती, गण्डकी र मधेस प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
अर्काे २४ घण्टामा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहँदा, बाढी, डुबान र पहिरोको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरूलाई पूर्वतयारी र संभावित जोखिम न्यूनीकरणका उपायहरूमा जुट्न भनिएको छ भने स्थानीय बासिन्दालाई सचेत र सुरक्षित रहन सुझाव दिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
९५ प्रतिशत सम्पन्न नुप्चे लिखु: अन्तिम चरणमै किन हुन्छ सबैभन्दा ठूलो परीक्षा?
-
चार दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, आज ८.७८ अंकले बढ्यो
-
चालु वर्षको चैतसम्म अप्पर सोलु हाइड्रोको नाफा २१ करोड १० लाख रुपैयाँभन्दा बढी
-
सामलिङ पावरको खर्च र प्राकृतिक विपत्तिको असरले नाफामा दबाब
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा