सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दाङ, बाँके र बर्दियामा अति भारी वर्षा, बाढी–डुबानको जोखिम उच्च

जलसरोकार
मंगलबार, साउन २०, २०८२ | ११:१६:०३ बजे

काठमाडाैँ : पछिल्ला १२ घण्टामा दाङ, बाँके र बर्दिया जिल्लामा अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी २७७ मिलीमिटर वर्षा मापन गरिएको छ । बाँकेको सिक्टामा २०० मिलीमिटर र बर्दियाको मानपुरमा १६७ मिलीमिटर वर्षा भएको छ ।

दाङ र बाँकेमा यो वर्षालाई अति भारी मानिन्छ भने बर्दियामा धेरै भारी वर्षाको श्रेणीमा राखिएको छ । खासगरी दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा मापन भइसकेको छ ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार पश्चिम नेपालमा दिउँसो र रातिको समयमा अझै बढी वर्षा हुने सम्भावना छ । “साना प्रणालीहरू सक्रिय भएकाले तत्कालको प्रभाव बढी देखिएको हो,” उनले बताए “तर मनसुनको न्यूनचापीय प्रणाली देशभर सक्रिय रहेकाले केही दिन अझै व्यापक वर्षा हुनसक्छ ।”

वर्षासँगै दाङको तुलसीपुर, अम्बापुर, जलकुण्डी क्षेत्र, बाँकेको पश्चिम राप्ती र सिक्टा, बर्दियाको मानपुर लगायत क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस्ता क्षेत्रमा बहने बबई, पश्चिम राप्ती, डुडुवा लगायतका साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालका तराई भूभाग हुँदै सर्ने क्रममा रहेकाले देशभर बदली छाएको छ । लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तथा बागमती, गण्डकी र मधेस प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अर्काे २४ घण्टामा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहँदा, बाढी, डुबान र पहिरोको जोखिम रहेकोले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रशासन, सुरक्षा निकाय र सरोकारवालाहरूलाई पूर्वतयारी र संभावित जोखिम न्यूनीकरणका उपायहरूमा जुट्न भनिएको छ भने स्थानीय बासिन्दालाई सचेत र सुरक्षित रहन सुझाव दिइएको छ ।

 

प्रकाशित मिति : मंगलबार, साउन २०, २०८२ | ११:१६:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया