सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

घुन्सा खोला आयोजनाको ५ अर्बभन्दा बढीको इपीसी ठेक्का भारतीय-नेपाली संयुक्त उद्यमलाई

जलसरोकार
मंगलबार, असार ०२, २०८३ | १४:३२:३५ बजे

काठमाडौं : वर्षौंदेखि अध्ययन, प्रवर्द्धक फेरबदल र ठेक्का प्रक्रियामै सीमित रहेको घुन्सा खोला जलविद्युत् आयोजना अन्ततः निर्माणतर्फ अघि बढ्ने संकेत देखिएको छ। रेमिट हाइड्रो लिमिटेडले आयोजनाको मुख्य इपीसी प्याकेजका लागि भारतीय-नेपाली संयुक्त उद्यम छनोट गर्दै ठेक्का प्रदान गर्ने आशयको सूचना जारी गरेको हो।

रेमिट हाइड्रोले घुन्सा खोला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का भारतीय-नेपाली संयुक्त उद्यमलाई दिने प्रक्रिया अघि बढाएको हो।

कम्पनीले सोमबार 'ठेक्का स्वीकृतिको प्रारम्भिक सूचना' (Notice of Intent to Award the Contract) जारी गर्दै सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने र प्राविधिक रूपमा योग्य ठहरिएको संयुक्त उद्यम छनोट भएको जनाएको हो।

सूचनाअनुसार आयोजनाको इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (EPC) अन्तर्गत लट-१ को सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि: शर्मा एन्ड कम्पनी प्रालि (नेपाल), निर्माणवृद्धि कन्स्ट्रक्सन्स (इन्डिया) LLPऽ, प्रतिमा इन्फ्रास्ट्रक्चर लिमिटेड, (भारत) संयुक्त रूपमा छनोट भएका छन्।

उक्त संयुक्त उद्यमले करिब १ करोड ४४ लाख अमेरिकी डलर र नेपाली रुपैयाँ करिब ५ अर्ब २३ करोड रुपैयाँ बराबरको प्रस्ताव पेश गरेको सूचनामा उल्लेख छ।

ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३ र बोलपत्रसम्बन्धी प्रावधानअनुसार अघि बढाइएको कम्पनीले जनाएको छ। गत ६ जनवरी २०२६ मा प्रकाशित बोलपत्र आह्वानपछि मूल्यांकन प्रक्रिया सम्पन्न भएको थियो।

'ठेक्का स्वीकृतिको प्रारम्भिक सूचना'  अन्तिम सम्झौता भने होइन। सार्वजनिक खरिद प्रक्रियाअनुसार प्रारम्भिक रूपमा छनोट भएको कम्पनीको नाम सार्वजनिक गरिएपछि अन्य प्रतिस्पर्धीलाई कानुनी रूपमा उजुरी वा दाबी गर्ने अवसर दिइन्छ। निर्धारित अवधिमा कुनै उजुरी नपरे अन्तिम सम्झौता गरिनेछ।

घुन्सा खोला जलविद्युत् आयोजना निर्माणका लागि इपीसी मोडलमा ठेक्का प्रक्रिया अघि बढाइएको हो। इपीसी अन्तर्गत एउटै कम्पनी वा संयुक्त उद्यमले डिजाइन, सामग्री खरिद तथा निर्माणको सम्पूर्ण जिम्मेवारी लिने व्यवस्था हुन्छ।

घुन्सा खोला जलविद्युत् आयोजना लामो समयसम्म अध्ययन, वित्तीय व्यवस्थापन र संरचनागत तयारीमै अल्झिएको आयोजना हो। २०७३ सालतिर सर्वेक्षण अनुमति पाएर अघि बढाइएको यो आयोजना सुरुमा ७१.५ मेगावाट क्षमतामा प्रस्ताव गरिएको थियो। पछि विस्तृत अध्ययनपछि क्षमतालाई बढाएर ७७.५ मेगावाट पुर्‍याइएको हो।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माण हुने आयोजना दुर्गम हिमाली क्षेत्रमा पर्ने भएकाले सुरुदेखि नै पहुँचमार्ग, पुल, उपकरण ढुवानी र पूर्वाधार निर्माण चुनौतीपूर्ण रह्यो। आयोजनास्थलसम्म सडक पहुँच कमजोर रहेकाले कम्पनीले तामोर नदीमा दुईवटा बेलिब्रिज निर्माण गर्नुपरेको थियो।

आयोजनाको वातावरणीय स्वीकृति, विद्युत् उत्पादन अनुमति तथा पीपीए प्रक्रिया टुंग्याउन पनि लामो समय लागेको देखिन्छ। रेमिट हाइड्रोले परियोजनाको वातावरणीय स्वीकृति र उत्पादन अनुमतिलगायत प्रक्रिया पूरा गरेको थियो।

गत वर्ष मात्रै विभिन्न बैंक तथा वित्तीय संस्थाले करिब १२ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय सम्झौता गरेका थिए। आयोजनाको कुल अनुमानित लागत ब्याजसहित करिब १८ अर्ब रुपैयाँ रहेको छ।

यता निर्माण प्रक्रिया भने अपेक्षाअनुसार अघि बढ्न सकेको थिएन। आयोजना कम्पनीले लामो समयसम्म ठूला सिभिल तथा हाइड्रोमेकानिकल प्याकेजको ठेक्का टुंग्याउन सकेको थिएन। अहिले आएर मात्रै इपीसी मोडलअन्तर्गत मुख्य निर्माण ठेक्का प्रदान गर्ने आशयको सूचना जारी गरिएको छ।

आयोजनामा सुरुदेखि नै जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) को संलग्नता थियो। एचआइडीसीएल ले परियोजनामा रणनीतिक लगानीकर्ता तथा प्रवर्द्धकको भूमिकामा प्रवेश गरेपछि परियोजना वित्तीय रूपमा अघि बढ्ने अपेक्षा गरिएको थियो।

घुन्सा खोलालाई ‘रेमिट हाइड्रो’ मोडलअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत लगानीकर्ताका रूपमा सहभागी गराउने अवधारणासहित अघि बढाइएको थियो। यही कारण परियोजना सुरुदेखि नै चर्चामा थियो।

https://jalasarokar.com/news/financial-management-of-rs-1813-billion-in-ghunsa-khola-775-mw-1816

 

 

प्रकाशित मिति : मंगलबार, असार ०२, २०८३ | १४:३२:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया