बजेट अभावले खानेपानी आयोजना अलपत्र
जलसरोकार
कैलाली : बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित खानेपानीका आयोजना वर्षौंदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०७१÷७२ देखि सञ्चालित सङ्घीय सशर्त अनुदानका कैलाली र कञ्चनपुरमा ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् ।
यी आयोजनाबाट करिब रु दुई अर्ब दायित्व सिर्जन भएको खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न भएकाले प्रतिफलसमेत प्राप्त नभएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर ग्रिष्म थापाले बताए ।
थापाका अनुसार जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गतका कैलालीमा ३२ र कञ्चनपुरमा २२ वटा खानेपानी आयोजना अधुरा छन् । यी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा सम्पन्न हुन नसक्नुका साथै एकातिर लागत वृद्धि भइरहेको छ भने अर्कोतिर नागरिकले स्वच्छ पिउने पानी पाउन नसकेका उनले बताए । यी आयोजना सम्पन्न गर्न सरकारले पर्याप्त बजेट विनियोजन गरेमा एक वर्षमा सम्पन्न हुनसक्ने उनको भनाइ छ ।
कार्यालयका अनुसार सङ्घीय सरकारले आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलाली र कञ्चनपुरमा सञ्चालित कतिपय आयोजनाका भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन ।
बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार रु १० करोडका आयोजनामा वार्षिक रु दुई–चार लाख बजेट विनियोजन हुँदै आएकाले विनियोजन हुने बजेटको अनुपातमा काम सम्पन्न गर्न अझै वर्षौं लाग्ने देखिएको छ ।
दशदेखि १५ हजार जनसङ्ख्या लाभान्वित हुने आयोजना सम्पन्न गर्न रु तीनदेखि रु छ करोड बजेट आवश्यक देखिएकामा न्यून बजेट विनियोजन हुने गरेकाले काम अलपत्र परेका इञ्जिनियर थापाले बताए ।
डिपबोरिङ, ओभरहेड, कम्पाउन्ड वाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका आयोजनामा पाइप बिछ्याउन बजेट नपुगेर खानेपानी सञ्चालनमा ल्याउन नसकिएको भन्दै तयार भएका आयोजनाका संरचना जीर्ण हुँदै गएका उनको भनाइ छ ।
आयोजना धेरै बाँडेर बजेट कम विनियोजन हुँदा सम्पन्न गर्ने समयावधि लम्बिँदै गएको इञ्जिनियर थापाले उल्लेख गरे। सङ्घीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी आयोजनामा सङ्घीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्दै आएको छ । न्यून बजेट विनियोजनले निर्माण भइरहेका आयोजना सम्पन्न गर्न अझै समय लाग्ने उहाँको भनाइ छ ।
आधारभूत खानेपानी सबै नागरिकलाई समयमा पु¥याउन बजेट बढाउनुपर्नेमा इञ्जिनियर थापाले जोड दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकमा अझै पनि आधारभूत खानेपानीको सुविधा पुगेको छैन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा–सिस्नेखोला सुरुङ सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान
-
‘मोन्था आँधी’को प्रभाव क्रमशः कमजोर, अधिकांश स्थानमा मौसम सफा
-
काठमाडौं शहरीकरणको ५० वर्षे गुरुयोजना बन्दै, गुरुयोजना बमोजिम शहरीकरणका योजना अगाडि बढ्छन् : मन्त्री कुलमान घिसिङ
-
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्दै ठूला र रोजगारमूलक आयोजनामा लगानी विस्तारमा जोड
-
८२ मेगावाट लोअर सोलु जलविद्युत् आयोजनाको १३२ केभी ग्यास इन्सुलेटेड सबस्टेसनको अन्तिम परीक्षण सम्पन्न
-
नेपाल विद्युत् प्राधिकरण कानुनबमोजिम लाइन काट्न बाध्य भएको हो : ऊर्जा मन्त्री कुलमान