आयोजना अलपत्र हुँदा खानेपानी समस्या
जलसरोकार
सर्लाही,: छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आशमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोखे । खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएको उनको भनाइ छ ।
लामाको आँगनमा गाडेको ट्युबेलबाट निकै आर्सेनिकयुक्त पनि आउने गरेको थियो । आर्सेनिक पानीले गाउँमा क्यान्सरको सङ्क्रमण फैलिएको हल्लापछि उहाँले पनि ट्युबेलको पानी प्रयोग बन्द गरे । तर, त्यसको विकल्पमा विपन्न परिवारले जारको पानी किनेर खाने अवस्था नरहेको उनी बताउछन् । “बिहान पानी आउने समयमा कहिले बालबालिका स्कुल पठाउने चटारो हुन्छ” लामाले भने,“पानी आएर गइसकेको हुन्छ । थाप्न पनि भ्याइँदैन । साँझमा पनि विजुली भएको समय दुई घण्टा आउँछ । खाना पकाउने पानीसम्म पनि कि त किन्नु पर्यो कि त माग्नुपर्छ ।”
लामाजस्तै हरिवन नगरपालिका–५, निवासी प्रेमशीलाकुमारी साहको समस्या पनि फरक छैन् । घरमा एक्ले रहनुभएको उहाँ कयैन पटक पानी थाप्न नपाउँदा खाने पानीसमेत किनेर खानुपरेको बताउछन् । अझ पानीको समस्याले धेरै महिलालाई पिरोल्ने गरेको उनको अनुभव छ । पानीको समस्याले परिवारमा कलह हुने तथा महिला घरेलु हिंसासमेतमा परेको उनको भनाइ थियो । खेतबाट फर्कँदा पानी थाप्छ ढिला भएकाले छिमेकमा झैझगडासमेत हुने गरेको उनी सुनाउछन् । हुने खानेहरू जारको पानी किनेर खाने गर्छन, विपन्न परिवार अलपत्र आयोजनाको चपेटामा रहेका उनको भनाइ छ । पानीको समस्याले पालेको पशु वस्तुसमेत बेच्नु परेको साहले गुनासो गरे ।
विसं २०७५ सालबाट निर्माण शुरु भएको आयोजनामा चरम ढिलासुस्ती भएपछि उपभोक्ता समितिले सिधै डिप बोरिङबाट पानी वितरण सुरु गरेको छ । यसले एकतर्फ स्थानीयलाई पानी कुरेर बस्नु पर्ने बाध्यता छ । अर्कोतर्फ समितिको विद्युत् लगानीलगायतको खर्च आम्दानीभन्दा धेरै हुने गरेको सिद्धार्थ टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष मनोज लामाले गुनासो गरे । उनले भने,“सरासर काम गर्दा सात महिनामा सकिने काम छ वर्षदेखि अलपत्र पारेर राख्दा आयोजनाको लागत समेत बढिरहेको छ ।”
नगर जिल्ला खानेपानी, प्रदेश तथा सङ्घीय सरकारसम्म पुग्दा पनि आश्वासन बाहेक केही नपाएको उक्त वडाका वडाध्यक्ष नागेन्द्र साह बताउछन् । पानी खुवाउन भनेर पाइप लाइन र धारासमेत वितरण भइसक्दा पनि ओभरहेड ट्याङ्की निर्माण नसकिएको उनको भनाइ छ । काम अलपत्र हुँदा वडाका नौ सय नौ हजार तीन सय घरधुरीले स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित हुनुपरेको छ ।
यस वडामा झण्डै डेढ दशकदेखि मानिसमा क्यान्सरजन्य घातक रोगको सङ्क्रमण देखिएको छ । क्यान्सरको सङ्क्रमणबाट आक्रान्त स्थानीयले पानीको समस्या आँकलन गर्दै ट्युबेलको पानी प्रयोग बन्द गरेका छन् । त्यसयता यस वडामा मात्र एक दर्जन बढी गाउँका स्थानीयले पिउने पानीको सङ्कट झेलिरहेका छन् । यस क्षेत्रका ट्युबेलको पानी परीक्षणमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेको थियो ।
अत्यधिक आर्सेनिक युक्त पानी फेला परेको र स्थानीयमा क्यान्सरको महामारी रहेको विभिन्न सञ्चार माध्यममा खबर फैलिए पछि सङ्घीय सरकार अन्तरगत खानेपानी मन्त्रालयले पानी परीक्षण गराएको थियो । त्यसबाट यस क्षेत्रका ट्युबेलको पानी पिउन अयोग्य रहेको भन्दै प्रदेश सरकारले उक्त खानेपानी तथा सरसफाइ आयोजना सुरु गरेको थियो ।
आयोजना अन्तरगत ओभरहेड ट्याङ्की निर्माणकार्य नै अलपत्र बनेपछि स्थानीयको खानेपानीको समस्या ज्युँका त्युँ बनेको हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकीले बताए । प्रदेशबाट सुरु भएको योजना भएकोले नगरले लगानी गर्न पनि नसकेको र ताकेता गर्दा पनि अटेर गरेको उनको दावी छ ।
यता डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय मलङ्गवाका निमित्त प्रमुख रामनाथ साहले प्राप्त बजेट अभावमा समयमै कार्य सम्पन्न हुन नसकेको बताए । “यो सङ्घीय सरकारको योजना हो” उनले भने,“वर्षेनी थोरैथोरै मात्र बजेट आउँदा काम ढिलाइ भएको हो ।” यस वर्ष प्रदेश सरकारबाट रु ४० लाख विनियोजन भएकाले काम सम्पन्न हुने उनले विशवास व्यक्त गरे । दुई लाख २५ हजार घनमिटर क्षमताको ट्याङ्की निर्माणको लागि सङ्घ सरकारले गत वर्षसम्म रु ८० लाख खर्च गरिसकेको बताइएको छ । यस वर्ष सङ्घ सरकारबाट थप बजेट नआएपछि प्रदेशबाट रु ४० लाख हालेर काम सम्पन्न गर्ने योजना बनाएको उनको भनाइ थियो ।
एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन २० गते कमलेश निर्माण सेवा लक्ष्मीपुर–५, सर्लाहीले ओभरहेड निर्माणको ठेक्का सकारेको थियो । निर्माण कम्पनीले कुल ७४ लाख ९९ हजार तीन सय ४२ रुपैयाँ २७ पैसामा ठेक्का लिएको डिभिजन खानेपानी कार्यालयले जनाएको छ । (रासस)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
-
नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन
-
आगामी बजेटलाई परिणाममुखी बनाउन योजना आयोगको ‘चेकलिस्ट’, मन्त्रालयसँग प्रारम्भिक छलफल सुरु
-
सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
चट्याङपछि अवरुद्ध विद्युत् सेवा पुनः सुचारु
-
एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने