जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

म्याग्दीको मालिका धुरीमा १८ लाख खर्चेर भक्तजनलाई खानेपानी सुविधा

जलसरोकार
बुधबार, जेठ ०९, २०८१ | ११:२५:३६ बजे

 

गलेश्वर (म्याग्दी)– म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा जेठ १० गते परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनको सुविधाका लागि करिब १८ लाख रुपैयाँ लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ ।  समुद्र सतहबाट ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीमा २ किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनलाई खानेपानीको व्यवस्था गरिएको हो ।

कुइनेमंगले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत ७ लाख ६५ हजार र रघुगंगा गाउँपालिकाको १० लाख गरी १७ लाख ६५ हजार रुपैयाँ र ३५ हजार रुपैयाँ बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पुर्‍याइएको शीतल मालिका युवा क्लबका निवर्तमान प्रविन छन्त्यालले जानकारी दिए ।

पूर्वअध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट २ किलोमिटर पर रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पुर्‍याइएको हो । यसअघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनले सास्ती व्यहोर्दै आउनुपरेको थियो ।

एक घण्टाको दूरीमा रहेका मूलहरूबाट पानी बोकेर भक्तजन मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकामा देउरालीमा पानी पुगेपछि भक्तजनलाई सुविधा पुगेको छन्त्यालले बताए ।

पानीको मुहान रहेको लिसेखर्कबाट धारा राखिएको मालिका देउराली उकालो दुई किलोमिटर उकालोमा पर्दछ । उकालो भएकाले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकाले एक हजार लिटरको ट्यांकीमा पानी भर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पुर्याउने योजना रहेको भए पनि ठाडै उकालो भएकाले पानी नचढेपछि देउरालीमा धारा राखिएको उनले जानकारी दिए ।

ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरूलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगंगा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । 

यो समय पानीको स्रोत पर्याप्त नहुँदा पानी अनावश्यक खेर नफालिदिनुहुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनलाई अनुरोध गरेको छ । जिल्लाको मालिका गाउँपालिकाका वडा नं ६, ७ र रघुगंगा गाउँपालिका–६ को सीमानामा रहेको मालिकामा विशेषगरी चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीमा पूजाआजासहित भव्य मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : बुधबार, जेठ ०९, २०८१ | ११:२५:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया