मेलम्ची बन्द भएपछि उपत्यकामा धाप ड्यामबाट पानी वितरण
जलसरोकार
काठमाडौं– सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन सोमबारदेखि बन्द गरिएपछि विकल्पका रुपमा धाप ड्यामको पानी प्रयोग गरिएको हो ।
बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । उनले हिजोबाट मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजदेखि धाप ड्यामको पानी वितरण सुरु भएको बताए । राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो ।
‘मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट यो सुक्खा मौसममा नौ करोड लिटर दैनिक उपभोक्तालाई खानेपानी वितरण हुन्छ, त्यसमध्ये ४० प्रतिशत भूमिगत पानीले कभर गर्छ’, उनले भने, ‘अब मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा पानीको अभाव हुने भएकाले धाप ड्यामबाट पानी वितरण सुरु गरेका छौँ ।’
उनका अनुसार काठमाडौंमा दैनिक ४३ करोड खानेपानी माग छ । आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकिएको छैन । बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा उपत्यकामा खानेपानीको अभाव बढिरहेको छ ।
माथिल्लो तटिय क्षेत्रमा पानी परिरहेको र अघिल्ला वर्षमा मेलम्ची नदीमा आएको बाढीले आयोजनाको ड्याममा क्षति पर्नुका साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि आयोजना बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने