सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चक्रवात ‘मोन्था’ को प्रभाव: पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षा र हिमपातको सम्भावना

जलसरोकार
शुक्रबार, कात्तिक १४, २०८२ | ०६:५४:१४ बजे

काठमाडौं : बंगालको खाडीमा विकसित भई भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको चक्रवात ‘मोन्था’ को प्रभावले शुक्रबार साँझसम्म नेपालको मौसम प्रभावित रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । ती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहँदा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यससँगै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको महाशाखाको भनाइ छ ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम हिमपात हुने सम्भावना छ भने बाँकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा पनि हिमपात हुन सक्ने उल्लेख गरिएको छ । तीमध्ये कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी हिमपात हुनसक्ने चेतावनी दिइएको छ ।

मौसम विश्लेषणअनुसार, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को कारण नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने र त्यसपछि क्रमिक रूपमा सुधार हुने अनुमान गरिएको छ । साथै, अहिले नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, कात्तिक १४, २०८२ | ०६:५४:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया