पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
जलसरोकार
म्याग्दी: जिल्लाको बेनी नगरपालिका–५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो ।
आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । “तीन वटा योजनाअन्तर्गत निर्माण खानेपानी आयोजनाका लागि पर्याप्त बजेट नआउँदा ढिलाइ भएको हो”, उनले भने,“पुलाचौरको तल्लो र मध्य गाउँको योजना यसअघिका वर्षमा सकिएको थियो । माथिल्लो टोलमा यसै सातादेखि पानी वितरण गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।”
अध्यक्ष सुवेदीका अनुसार जोत्रे र पधेरा मुहानको पानीलाई ७५ हजार लिटर क्षमताको टङ्कीमा सङ्कलन गरेर २० हर्सपावर क्षमताको ‘सबमर्सिव’ पम्पबाट दुई सय ५० मिटरमाथि रहेको चुलेसीस्थित अर्को टङ्कीमा पु¥याएर थप तीन वटा रिजर्भ टङ्कीमार्फत वितरणको व्यवस्था मिलाइएको छ । आठ सय मिटर लामो तीन इञ्चको पाइपमार्फत माथिल्लो टङ्कीमा पानी पु-याइएको उनले उल्लेख गरे ।
आयोजनाबाट एक सय ८२ परिवार लाभान्वित भएका उपभोक्ता समितिका सचिव सागर पौडेलले बताए । “विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा पनि धारा जडान गरिएको छ । सबैका घरमा मिटरसहितको निजी धारा जडान गरेर पानी वितरणको व्यवस्था मिलाएको छ”, उनले भने,। सचिव पौडेलले यसअघि सार्वजनिक धाराबाट गाग्री, बोत्तल र ग्यालीनमा पानी ओसार्नुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गरे ।
“आठ÷दश घरले एउटा धाराबाट पानी ल्याउँदा पालो पर्खनुपर्ने र कहिलेकाँही पानीका कारणले बिवाद पनि हुन्थ्यो”, स्थानीय मिनाकुमारी विकले भनिन्,“घरकै धारामा पानी आउन थालेपछि पानी ओसार्दा हुने समयको बचत र झञ्जट हटेको छ ।”
उपभोक्ताको श्रमदान बाहेक आयोजना निर्माणमा रु दुई करोड १० लाख ४८ हजार ३४८ खर्च भएको खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले जानकारी दिए । उपभोक्ताले कूल लागतको १० प्रतिशतका दरले श्रमदान गरेका छन् ।
पानी तान्ने विद्युत् उपकरण सञ्चालन गर्न ‘मोबाइल अपरेटिङ सिस्टम’ जडान गरिएको छ । यो प्रणालीबाट उपभोक्ताले घरबाट पानी तान्ने उपकरण खोल्न र बन्द गर्न सक्छन् । विद्युतीय उपकरण भण्डारण, उपभोक्ता संस्थाको कार्यालय र हेरालुको आवासका लागि भवन पनि निर्माण भएको छ ।
योजना निर्माणमा प्रतिघर २० दिनका दरले श्रमदान गरिएको उपभोक्ता बलबहादुर परियारले बताए । घरघरमा पानी वितरण हुन थालेपछि पुलाचौरबासीको दैनिकी फेरिएको छ । “पानीको पालो कुर्दा खाना पकाउन ढिला भएर कहिलेकाँही बालबालिका विद्यालय जान नपाउने अवस्था थियो”, उनले भने,“अहिले समयको बचत हुनुका साथै सरसफाइ गर्न सहज भएको छ भने स्थानीयको दैनिकी फेरिएको छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने