महोत्तरीमा शीतलहर र बाक्लो कुहिरोले जनजीवन प्रभावित
जलसरोकार
महोत्तरी : पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ ।
शीतलहर, चिसो कठ्याग्रिँदो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण पुस ४ गतेदेखि मौसम प्रतिकूल बनेको छ । यसले सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी र बालीनालीमा समेत असर पारेको छ ।
निरन्तर बढ्दो जाडोका कारण यस वर्ष हालसम्म मानवीय क्षति नभए पनि जिल्लाका मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व–दक्षिणवर्ती गाउँबस्तीका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् । चिसोका कारण दैनिक कामकाज प्रभावित भएको छ भने बालबालिका र वृद्धवृद्धा बिरामी पर्ने क्रम बढ्दै गएको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा विकास साहले जानकारी दिए ।
डा साहका अनुसार अस्पतालमा हाल दैनिक १५० देखि २०० जनासम्म चिसोसँग सम्बन्धित बिरामी आउने गरेका छन् । जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्र र अस्पतालहरूमा पनि चिसोका बिरामीको चाप बढेको छ ।
चिसोका कारण बारी तथा खेतमा लगाइएका हिउँदेबाली, दलहन र तरकारी कुहिन थालेको किसानहरूले बताएका छन् । जलेश्वरसहित सहरी र ग्रामीण क्षेत्रमा मानिसको चहलपहल घटेको छ । यद्यपि, चिसो बढेसँगै बजारमा ऊनी कपडाको बिक्री भने बढेको व्यापारीहरूले बताएका छन् ।
बढ्दो चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १५ वटै पालिकालाई सम्भावित विपद्सँग जुध्न तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्ला वन कार्यालयसँग समन्वय गरी सबै पालिकामा उचित दररेटमा दाउरा उपलब्ध गराउन पहल गरिएको जानकारी दिए ,।
प्रजिअ यादवले जनताको जीउज्यान रक्षाका लागि चोकचोक र गाउँगाउँमा दाउरा बाल्न पालिका प्रमुखहरूलाई आग्रह गरेका छन् । साथै जिल्ला प्रशासन कार्यालय महोत्तरीले चिसो बढिरहेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र घरमै सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु