सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महोत्तरीमा शीतलहर र बाक्लो कुहिरोले जनजीवन प्रभावित

जलसरोकार
शुक्रबार, पुस ११, २०८२ | १३:४७:४७ बजे

 

महोत्तरी : पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ ।

शीतलहर, चिसो कठ्याग्रिँदो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण पुस ४ गतेदेखि मौसम प्रतिकूल बनेको छ । यसले सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी र बालीनालीमा समेत असर पारेको छ ।

निरन्तर बढ्दो जाडोका कारण यस वर्ष हालसम्म मानवीय क्षति नभए पनि जिल्लाका मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व–दक्षिणवर्ती गाउँबस्तीका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् । चिसोका कारण दैनिक कामकाज प्रभावित भएको छ भने बालबालिका र वृद्धवृद्धा बिरामी पर्ने क्रम बढ्दै गएको प्रादेशिक अस्पताल जलेश्वरका प्रमुख डा विकास साहले जानकारी दिए ।

डा साहका अनुसार अस्पतालमा हाल दैनिक १५० देखि २०० जनासम्म चिसोसँग सम्बन्धित बिरामी आउने गरेका छन् । जिल्लाका निजी क्लिनिक, स्वास्थ्य केन्द्र र अस्पतालहरूमा पनि चिसोका बिरामीको चाप बढेको छ ।

चिसोका कारण बारी तथा खेतमा लगाइएका हिउँदेबाली, दलहन र तरकारी कुहिन थालेको किसानहरूले बताएका छन् । जलेश्वरसहित सहरी र ग्रामीण क्षेत्रमा मानिसको चहलपहल घटेको छ । यद्यपि, चिसो बढेसँगै बजारमा ऊनी कपडाको बिक्री भने बढेको व्यापारीहरूले बताएका छन् ।

बढ्दो चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १५ वटै पालिकालाई सम्भावित विपद्सँग जुध्न तयारी अवस्थामा रहन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्ला वन कार्यालयसँग समन्वय गरी सबै पालिकामा उचित दररेटमा दाउरा उपलब्ध गराउन पहल गरिएको जानकारी दिए ,।

प्रजिअ यादवले जनताको जीउज्यान रक्षाका लागि चोकचोक र गाउँगाउँमा दाउरा बाल्न पालिका प्रमुखहरूलाई आग्रह गरेका छन् । साथै जिल्ला प्रशासन कार्यालय महोत्तरीले चिसो बढिरहेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र घरमै सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुस ११, २०८२ | १३:४७:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया