सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

जलसरोकार
शुक्रबार, साउन १६, २०८२ | ०९:४९:०६ बजे

 

पर्सा: वीरगञ्ज महानगरमा दिनप्रतिदिन चर्किँदो खानेपानी अभाव समाधान गर्न उच्चस्तरीय प्राविधिक टोलीले बाराको अमलेखगञ्ज भावर क्षेत्रको पानीको स्रोतको स्थलगत निरीक्षण गरेको छ।

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले अमलेखगञ्जस्थित कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको व्यवस्थापन मोडल अध्ययन गरेका हुन् । अमलेखगञ्जमा भू–तह संरक्षणमार्फत दैनिक २४ लाख लिटर पानी वितरण हुँदै आएको सकारात्मक उदाहरणले वीरगञ्जको सम्भावित समाधानतर्फ इशारा गरेको छ ।

महानगर प्रमुख सिंहले भूसतहमा पानी पुनःभरण गरेर चापाकल सुकेको समस्या समाधान गर्न सकिने उल्लेख गर्दै वीरगञ्ज क्षेत्रमा पनि अमलेखगञ्जजस्तै प्रविधि अपनाउन सकिने सम्भावनामा जोड दिए । उनले खेर गइरहेको पानीलाई पोखरी निर्माण लगायतका संरचनाबाट संकलन गर्न सके जमिनमुनिको पानीको सतह बढाउने अवसर देखिएको बताए ।

अमलेखगञ्ज उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले यहाँ तीन मिटर गहिराइको सतहबाट पानी संरक्षण गरेर ८२७ घरपरिवारलाई खानेपानी आपूर्ति भइरहेको जानकारी दिए ।

समितिका कार्यान्वयन एकाइ कार्यालय, चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रका पानीको स्रोतहरूलाई संरक्षण गर्दै पोखरी र संरचना निर्माणबाट दीर्घकालीन समाधान खोज्न सकिने धारणा राखे । उनले पर्साको भेडाहा खोलाको भावर क्षेत्रमा पनि यस्ता संरचना बनाएर वीरगञ्जका विभिन्न वडामा पानी आपूर्ति गर्न सकिने प्राविधिक सम्भावना औंल्याए ।

टोलीले वीरगञ्ज–३१ वेल्बास र भेडाहा खोलाको भावर क्षेत्रमा पुगेर सम्भावित संरचना निर्माणका लागि निरीक्षणसमेत गरेको छ ।

यसैबीच, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जको खानेपानी अभाव समाधानका लागि वैकल्पिक स्रोतको खोजीस्वरूप अमलेखगञ्ज र भेडाहा खोलाको स्थलगत अध्ययन गरिएको जानकारी दिए ।

स्थानीय तह, उपभोक्ता समिति र प्राविधिक संयोजनमा अघि बढेको यस पहलले दीर्घकालीन रूपमा वीरगञ्जको पानी संकट समाधानतर्फ मार्ग प्रशस्त गर्न सक्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन १६, २०८२ | ०९:४९:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया