जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भारी वर्षाले जलमग्न विराटनगर

जलसरोकार
बुधबार, असार १२, २०८१ | १०:३८:३६ बजे

 

विराटनगर-भारी वर्षा भएपछि कोशी प्रदेशको राजधानी विराटनगर डुबानमा परेको छ । निरन्तरको वर्षासँगै विराटनगरमा विभिन्न ठाउँ डुबानमा परेको हो । विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ का बस्ती डुबानमा परेका हुन् । त्यहाँका घरमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन् । मंगलबार रातिदेखिको अविरल वर्षासँगै दुवै खोलामा पानीको बहाव उच्च भएको छ । खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीतिर पस्दा नगर डुबानमा परेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिंघिया खोलाको बाढी हाटखोला आसपासका बस्तीतिर पस्न थालेको छ । उनले हाटखोला क्षेत्रका ५/७ वटा घर डुबानमा परेको बताए ।

उनले भने, ‘केसलिया खोलाको बाढी पनि ‘ओभरफ्लो’ भएर बस्तीमा छिरेको जानकारी आएको छ । वर्षा रोकिएन भने बाढी र डुबानले राम्रैसँग जनजीवन प्रभावित बनाउने देखिन्छ ।’

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाढी र डुबानबाट पीडित भएकाको उद्धारका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । निरन्तरको वर्षासँगै खोलानजिक रहेका बस्ती बढी जोखिममा परेका छन् । पीडितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै, अविरल वर्षाले जनजीवन प्रभावित भएसँगै विराटनगर महानगर क्षेत्रका विद्यालयमा बुधबार बिदा दिइएको छ । सरकारी तथा निजी विद्यालयमा एक दिन पठनपाठन नहुने भएको हो ।

वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार बिहानबाट परेको वर्षाले विशाल चोक, सम्झना चोक, पृथ्वी चोक लगायत धेरै स्थान जलमग्न भएका छन् । अध्यक्ष न्यौपानका अनुसार ३ सय बढी सर्वसारधाणको घरमा पानी पसेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ को राजवंशी चोक आसपास पनि परेको पानी बस्तीमा पसेको छ ।

प्रकाशित मिति : बुधबार, असार १२, २०८१ | १०:३८:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया