सप्तकोशीको बहाव बढ्दा उदयपुरको बेलका क्षेत्र उच्च जोखिममा
जलसरोकार
उदयपुर: उदयपुरको बेलका क्षेत्र तीन दिनदेखि जारी अविरल वर्षाका कारण डुबान तथा कटानको उच्च जोखिममा परेको छ । सप्तकोशी नदीको सतह निरन्तर बढिरहेकाले बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका सप्तकोशी किनारका गाउँहरू डुबानको सम्भावित खतरा भोगिरहेका छन् ।
प्रहरीका अनुसार नदीको बहावसँगै कटान पनि सुरु भइसकेको छ, जसले तटीय बस्तीहरूमा थप संकट ल्याउने सम्भावना बढेको छ । कोठु, डुम्रीबोट, सिसौलीलगायत बस्तीहरूमा सप्तकोशीको पानी कोशी किनार नाघेर बग्न थालेको पुष्टि जिल्ला प्रशासन कार्यालय उदयपुरले गरेको छ ।
स्थिति गम्भीर हुन सक्ने आँकलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सुरक्षा टोलीले प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले कुनै पनि आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायहरू तयारी अवस्थामा राखिएको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पूर्ण तयारी अवस्थामा राखिएको छ ।
स्थानीय तह, प्रशासन र सुरक्षा निकाय मिलेर उच्च सतर्कता अपनाइएको र थप वर्षा भएमा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने पूर्वतयारी समेत थालिएको नगरप्रमुख अशोक कार्कीले बताए ।
सप्तकोशी नदीमा पानीको बहाव अझै बढ्ने सम्भावना रहेकाले बेलका आसपासका बासिन्दालाई जोखिम क्षेत्रबाट टाढा रहन र सुरक्षाको लागि प्रशासनको सूचनामा ध्यान दिन प्रशासनले पुनः आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड