हुरीबताससहितको वर्षा प्रणाली पूर्वतिर सर्दै, उपत्यकामा वर्षा हुँदै
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने मौसम प्रणाली पूर्वतिर सर्दै गएको जनाएको छ। उक्त प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित बागमती र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा सुरु भइसकेको छ।
विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। सुदूरपश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको उनले जानकारी दिए।
हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही स्थानमा करिब दुई घण्टासम्म यसको प्रभाव रहने अनुमान गरिएको छ।
आज विशेष गरी केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यद्यपि, साँझपछि वर्षा केही कम हुने भए पनि साताभरि नै वर्षा गराउने प्रणाली सक्रिय रहने जनाइएको छ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ। साथै, नेपालको दक्षिणी भू–भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले मौसममा थप प्रभाव पारेको विभागले उल्लेख गरेको छ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र हिमाली भू–भागमा सामान्य बदली रहेको छ। देशका पहाडी र तराई क्षेत्रका केही स्थानमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
मङ्गलबारको पूर्वानुमान
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्छ। राति यी प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।
बुधबारको अवस्था
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।
विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने