सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुरक्षित खानेपानी पहुँच ९७ प्रतिशत जनसंख्यामा, तर प्रशोधित पानी प्रणाली अझै कमजोर

जलसरोकार
बुधबार, जेठ १३, २०८३ | १७:०३:५४ बजे

काठमाडौं : नेपालमा आधारभूत तथा सुरक्षित खानेपानी सेवामा पहुँच विस्तार हुँदै गएको सरकारले जनाएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म देशको ९७ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवा पुगेको छ भने २९ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानी सेवाको पहुँच पुगेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांकअनुसार नेपालमा राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८० र खानेपानी तथा सरसफाइ नियमावली २०८१ कार्यान्वयनमा आइसकेको छ । सरकारले संविधान, क्षेत्रगत नीति तथा आवधिक योजनाअनुसार खानेपानी पहुँच विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

आर्थिक सर्वेक्षणमा प्रकाशित तथ्यांकअनुसार २०७८ असारसम्म आधारभूत खानेपानी सेवाको पहुँच ९२.३१ प्रतिशत रहेको थियो । यो २०७९ मा ९४.३३ प्रतिशत, २०८० मा ९४.५४ प्रतिशत र २०८१ असारसम्म ९६.५४ प्रतिशत पुगेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म यो बढेर ९७ प्रतिशत पुगेको हो ।

सुरक्षित खानेपानी सेवातर्फ पनि केही सुधार देखिएको छ । २०७८ मा २५.६१ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानी सेवा पुगेकोमा २०८२ फागुनसम्म यो २९ प्रतिशत पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

तर प्रशोधनसहितको ढल प्रणालीको अवस्था भने अझै कमजोर देखिएको छ । २०७८ मा केवल २.१ प्रतिशत जनसंख्यामा यस्तो सेवा पुगेकोमा २०८२ फागुनसम्म पनि यो ३.३ प्रतिशतमा मात्रै सीमित रहेको छ । आधारभूत सरसफाइ सेवा भने १०० प्रतिशत जनसंख्यामा पुगेको सरकारी दाबी छ ।

चालु वर्ष ११ आयोजना सम्पन्न

सरकारका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ११ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । ती आयोजनाबाट थप १ लाख २९ हजार ६ सय ३२ जनसंख्यामा सुरक्षित खानेपानी सेवा पुगेको छ ।

यस अवधिमा खानेपानी संस्थानअन्तर्गत ५ हजार ४ सय १७ नयाँ धारा जडान गरिएको छ । साथै १ लाख ८६ हजार २१ धारा जडान गर्ने कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

काठमाडौंमा मेलम्ची र वर्षाको पानी संकलन

आर्थिक सर्वेक्षणले काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनबारे पनि विवरण सार्वजनिक गरेको छ । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण सम्पन्न भई १ हजार ५० किलोमिटर पाइपलाइनमार्फत नियमित पानी वितरण सुरु भएको सरकारको दाबी छ ।

काठमाडौंको खानेपानी वितरण प्रणाली सुधार गर्न Supervisory Control and Data Acquisition (SCADA) प्रणालीको काम पनि सम्पन्न भएको उल्लेख छ ।

त्यस्तै चालु आर्थिक वर्षमा वर्षाको पानी संकलन कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाका थप ३ स्थानमा प्रविधि जडान गरी करिब ९०० जनसंख्यालाई सेवा पुर्‍याइएको छ । उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४४ सरकारी भवन र ९८ सार्वजनिक भवन गरी हालसम्म ४०३ स्थानमा वर्षाको पानी संकलन प्रणाली जडान गरिएको छ ।

सार्वजनिक स्थल तथा सरकारी अस्पतालमा पनि पानी एटीएम जडानको काम अघि बढाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्म काठमाडौं उपत्यकाका ३१ स्थानमा वाटर एटीएम जडान सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

यद्यपि सुरक्षित खानेपानी पहुँच बढे पनि प्रशोधित ढल व्यवस्थापन, ग्रामीण क्षेत्रमा गुणस्तरीय पानी वितरण तथा शहरी खानेपानी व्यवस्थापन अझै चुनौतीकै रूपमा रहेको देखिएको छ ।

सूचक२०७८ असार (%)२०७९ असार (%)२०८० असार (%)२०८१ असार (%)२०८२ फागुन (%)
आधारभूत खानेपानी सेवा९२.३१९४.३३९४.५४९६.५४९७.०
आधारभूत सरसफाइ१००.०१००.०१००.०९५.५*९५.५*
उच्च प्रशोधित सुरक्षित खानेपानी२५.६१२५.६१२६.५७२७.५७२९.०
प्रशोधनसहितको ढल प्रणाली२.१२.२८२.३४२.३४३.३

* राष्ट्रिय जनगणना २०७८ अनुसार संशोधित तथ्यांक


चालु आर्थिक वर्ष २०८१/८२ फागुनसम्मको प्रगति

विवरणउपलब्धि
सम्पन्न भएका खानेपानी आयोजना११ वटा
थप लाभान्वित जनसंख्या१,२९,६३२
नयाँ धारा जडान५,४१७
कुल धारा जडान सम्पन्न१,८६,०२१
मेलम्ची पाइपलाइन१,०५० किमी
वर्षाको पानी संकलन प्रणाली जडान४०३ स्थान
पानी एटीएम जडान३१ स्थान

काठमाडौं उपत्यकामा वर्षाको पानी संकलन

स्थान/संस्थासंख्या
सरकारी विद्यालय२६५
सरकारी भवन४४
सार्वजनिक भवन९४
कुल४०३
प्रकाशित मिति : बुधबार, जेठ १३, २०८३ | १७:०३:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया