जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

म्याग्दीको ४७ प्रतिशत पानी पिउन अयोग्य

जलसरोकार
आइतबार, असार ३०, २०८१ | १३:५८:४० बजे

 

म्याग्दी – म्याग्दीका पाँचवटा स्थानीय तहहरुमा खानेपानीको नमुना संकलन गरि गरिएको परीक्षणबाट ४७ प्रतिशत पानीका मुहानहरुबाट प्रयोग गरिदै आएको खानेपानीमा ‘इ कोली’ (दिशामा हुने जिवाणु) र कोलिफर्म रहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका पाँचवटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा संकलन गरेको पानी परीक्षण गर्दा इ कोली र कोलीफर्म रहेको पाइएकोले पिउन अयोग्य ठहर गरेको हो ।

स्वास्थ्य कार्यालयले जिल्लाका ५८ स्थानमा संकलन गरेको नमुनामध्ये १४ प्रतिशतमा इ कोली र ३३ प्रतिशतमा कोलिफर्मलगाएतका जिवाणु भेटिएको जनस्वास्थ्य निरिक्षक भीमप्रसाद आचार्यले बताए ।

“स्वास्थ्यचौकीमै प्रयोग हुने पिउने पानीमा जीवाणु भेटिएको छ, सम्बन्धित स्थानीय तहलाई नमुना परीक्षणसहित जानकारी गराइसकिएको छ” जनस्वास्थ्य निरिक्षक आचार्यले भने ।

जिल्लाको बिम, रूम, मुदी र गलेश्वरको प्राथमिक स्वास्थ्य केन्दले प्रयोग गर्ने खानेपानीमा नै ‘इ कोली’को मात्रा धेरै भेटिएको छ । गलेश्वरको प्राथमिक स्वास्थ्य केन्द्रको खानेपानी बृद्धआश्रममा बस्ने बृद्धबृद्धाले समेत प्रयोग गर्ने गरेका छन् । सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले १४ प्रतिशतमा ‘इकोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको बताए । बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटामा इ कोली भेटिएको छ । मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटामा इकोली, धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा इ।कोली र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा इ।कोली जीवाणु भेटिएको छ ।

जीवाणु भेटिएको खानेपानीको मुहानबाट विद्यालय, समुदायस्तरमा समेत पानी वितरण भइरहेको अवस्थामा वृद्धवृद्धा र बालबालिका झनै प्रभावित रहेको छ ।

स्वास्थ्यचौकी बाहेक समुदायले प्रयोग गर्ने खानेपानीको मुहान, धारामा समेत जीवाणु भेटिएको जनस्वास्थ्य निरिक्षक आचार्यले जानकारी दिए ।

“यो नतिजाले नागरिकले दूषित पानी पिउने गरेको र यसले नागरिकको स्वास्थ्यमा असर गरिरहेको देखाउँछ” जनस्वास्थ्य निरिक्षक आचार्यले भने । झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने उनको भनाइ छ ।

खानेपानी गुणस्तरसम्बन्धी सरोकारवाला निकाय र स्थानीय तहमार्फत सुधार सहितका अभियान सञ्चालनका लागि समेत सुझाव दिइएको उनले बताए । ‘इकोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकीलगायत महामारीजन्य रोगको सङ्क्रमण हुने स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : आइतबार, असार ३०, २०८१ | १३:५८:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया