विश्व बैंकका उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न, रोजगारी सिर्जनामा जोड
जलसरोकार
काठमाडौं : दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स ज़ुटले आफ्नो पहिलो आधिकारिक नेपाल भ्रमण शुक्रबार सम्पन्न गरेका छन् । पाँच दिन लामो यस भ्रमणका क्रममा उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलसँग भेटवार्ता गरेका थिए ।
नेपाल १० वर्षपछि पुनः आएका ज़ुटले शान्ति स्थायित्व, सेवा सुधार, लोडसेडिङ अन्त्य, भूकम्प र कोभिड–१९ महामारीपछिको पुनःउत्थानलगायत क्षेत्रमा भएको प्रगतिप्रति खुसी व्यक्त गरे । उनले कृषिउद्योग, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा भएको उपलब्धि र ती उपलब्धिलाई दीर्घकालीन बनाउन आवश्यक सुधारबारे सरकार, निजी क्षेत्र र विकास साझेदारहरूसँग छलफल गरेको बताए ।
विश्व बैंकले आज जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा उनले नेपालका लागि विश्व बैंक समूहको नयाँ देश साझेदारी रूपरेखा (Country Partnership Framework) बारे चर्चा गरे, जसले नेपाल सरकारको सोह्रौं योजनासँग पूर्णरूपमा मेल खाने र रोजगारी सिर्जना तथा विपद् प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने दुई मुख्य चुनौतीमा केन्द्रित हुने उल्लेख छ ।
यस रूपरेखाअन्तर्गत विश्व बैंक समूहले सन् २०२५ देखि २०३१ सम्म नेपालका लागि करिब २.७ अर्ब डलर उपलब्ध गराउने लक्ष्य राखेको छ । यसअन्तर्गत व्यवसायिक वातावरण सुधार गरी पर्यटन र डिजिटल विकाससहितका क्षेत्रमा लगानी बढाउने र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने माध्यमबाट रोजगारी सिर्जना प्रमुख उद्देश्य हुनेछ ।
“हरेक वर्ष करिब पाँच लाख युवाहरु श्रम बजारमा प्रवेश गर्ने नेपालमा दिगो विकासलाई गति दिन र परिवारलाई गरिबीबाट उठाउन रोजगारी सिर्जना अब अत्यन्तै जरुरी भएको छ,” ज़ुटले भने, “सरकार, उद्यमी र सरोकारवालासँग मिलेर सुधार र लगानी प्रवाहमार्फत रोजगारी दिने विकासलाई अघि बढाउन हामी प्रतिबद्ध छौँ ।”
जुटले यस वर्षको जुलाई १ देखि दक्षिण एशियाका लागि विश्व बैंक उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनले सन् २०१३ देखि २०१५ सम्म नेपालका लागि विश्व बैंक देश निर्देशकको भूमिका निर्वाह गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित