सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

९ महिना काम रोकियो, तर २०८५ असारमै तामाकोशी-५ सक्ने लक्ष्य छ : सीइओ यादव

जलसरोकार
मंगलबार, वैशाख २९, २०८३ | १४:०२:११ बजे

दोलखामा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी-५ जलविद्युत आयोजना लामो समय वन भोगाधिकार, रुख कटान अनुमति र संरक्षण क्षेत्रसम्बन्धी प्रक्रियागत अवरोधका कारण सुस्त बनेको थियो। विशेष गरी गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने संरचनामा आवश्यक स्वीकृति नपाउँदा आयोजनाको मुख्य सुरुङ निर्माणसमेत प्रभावित भएको थियो।

तर तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव नेतृत्वमा विभिन्न सरकारी निकायसँग निरन्तर समन्वय, प्रत्यक्ष पहल र प्रक्रियागत सहजीकरण तीव्र बनाइएपछि रोकिएका धेरै कामले पुनः गति लिन थालेका छन्। अहिले सुरुङ तथा विद्युत्‌गृह निर्माण कार्य तीव्र रुपमा भइरहेको छ। आयोजनाले लट २ (इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकिनकल) को ठेक्का सम्झौतासमेत भइसकेको छ। आयोजनाले करिब ८-९ महिनाको अवरोध भोगे पनि यादव भने २०८५ साल असार मसान्तभित्रै आयोजना सम्पन्न गर्न दौडधुपमा लागिपरेका छन्। उनका अनुसार आयोजना ढिलो हुँदा दैनिक करिब २ करोड रुपैयाँ बराबरको सम्भावित विद्युत उत्पादन घाटा हुन सक्छ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट निस्किएको पानी पुनः प्रयोग गरेर निर्माण भइरहेको यो ‘क्यास्केड’ आयोजना, निर्माण चुनौती, वन अनुमति, सरकारी समन्वय, स्थानीय सम्बन्ध र समयमै आयोजना सम्पन्न गर्ने योजनाबारे यादवसँग जलसरोकारले आयोजनास्थलमै पुगेर गरेको कुराकानीको सम्पादित अंश:

 

जलसरोकार:  यो आयोजना कहिलेसम्म सम्पन्न हुन्छ?

रामकुमार यादव : अहिले भइरहेको कामको प्रगति र हाम्रो तयारीलाई हेर्दा आयोजना अनिवार्य व्यावसायिक सञ्चालन मिति (आरसीओडी) भित्रै (२०८५ असार) सम्पन्न गर्ने लक्ष्यमा हामी केन्द्रित छौँ। तामाकोशी कम्पनीका कर्मचारी, कन्सल्टेन्ट, कन्ट्र्याक्टर— सबै पक्ष एउटै उद्देश्यका साथ काम गरिरहेका छन् कि आयोजना कसरी तोकिएको समयभित्र सम्पन्न गर्न सकिन्छ। जहाँ समस्या देखिन्छ, त्यहाँ समाधान खोजिरहेका छौँ। आवश्यक वातावरण निर्माण गरेर निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ।

हाम्रो लक्ष्य २०८५ साल असार मसान्तभित्र आयोजना सम्पन्न गर्ने हो। बीचमा भोगाधिकार तथा वनसम्बन्धी समस्याका कारण करिब ८-९ महिना काम प्रभावित भएको थियो। कानुनी रूपमा हेर्ने हो भने त्यो अवधिको म्याद थप दाबी ठेकेदारले गर्न सक्छ।

तर हामीले उहाँहरूलाई आग्रह गरेका छौँ— कानुनी अधिकार हुँदाहुँदै पनि सक्दो प्रयास गरेर तोकिएकै समयभित्र आयोजना सम्पन्न गरौँ। सकारात्मक कुरा के छ भने कन्ट्र्याक्टर पनि अहिले आरसीओडी भित्रै आयोजना सक्ने मनस्थितिमा छन्। हामीले आवश्यक मोटिभेसन र समन्वय गरिरहेका छौँ।

९ महिना काम रोकिँदा पनि आयोजना निर्धारित समयमै सक्न सम्भव हुन्छ?

यादव : प्राविधिक हिसाबले हेर्दा ८-९ महिना काम रोकिँदा त्यति समय थप आवश्यक पर्न सक्छ। किनकि सुरुआती निर्माण कार्यतालिका त्यहीअनुसार बनाइएको थियो। तर हामीले समयको महत्त्व बुझेर सबै पक्षलाई सक्रिय बनाएका छौँ। एक दिन ढिलो हुँदा पनि आयोजनाले ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ। हाम्रो हिसाबले दैनिक करिब २ करोड रुपैयाँ बराबरको उत्पादन घाटा हुन सक्छ। महिनाको हिसाबले त्यो ६०-७० करोड रुपैयाँसम्म पुग्छ।

त्यसैले हामीले कन्ट्र्याक्टरलाई पनि यो विषय स्पष्ट रूपमा बुझाएका छौँ। अहिलेको प्रगति र निर्माणस्थलको उत्साह हेर्दा आरसीओडी भित्रै आयोजना सम्पन्न गर्न सकिने सम्भावना देखिन्छ।

तपाईं आएपछि वनको अनुमति लगायत रोकिएका कामहरू खुलाउनुभयो। अरू परियोजनाले यसबाट के सिक्न सक्छन्?

यादव : कुनै पनि आयोजना सफल बनाउन नेतृत्व तहदेखि सम्पूर्ण टिमको समर्पण आवश्यक हुन्छ। आयोजनालाई केवल कार्यालयको कामको रूपमा मात्र होइन, ‘यो मेरो आफ्नै आयोजना हो’ भन्ने भावनाका साथ काम गर्नुपर्छ। त्यही भावनाका साथ टिमलाई परिचालन गर्न सकियो भने जटिल समस्या पनि छोटो समयमा समाधान गर्न सकिन्छ।

हामीले भोगाधिकार र वनसम्बन्धी समस्या छोटो अवधिमा समाधान गर्न सफल भयौँ। अन्य आयोजनामा यस्तै प्रक्रिया पूरा गर्न ७-८ महिना वा एक वर्षसम्म लागेको उदाहरण पनि छन्।

त्यसैले सबै पक्षले इमानदारी र समर्पणका साथ काम गरे आयोजना समयमा सम्पन्न हुन सक्छ भन्ने मेरो विश्वास छ।

९ महिना रोकिएको आयोजना समयमै सम्पन्न गर्ने कुरा धेरैलाई आश्चर्य लाग्न सक्छ नि?

यादव : मलाई चाहिँ यो असम्भव लाग्दैन। नेपाल विद्युत प्राधिकरणमा लामो समय काम गरेको अनुभव छ। मेरो २७-२९ वर्षको अनुभवमा धेरै आयोजना चुनौतीबीच पनि समयमा सम्पन्न भएका छन्। मुख्य कुरा समर्पण, समन्वय र टिम परिचालन नै हो। यदि सबै पक्ष एउटै लक्ष्यमा केन्द्रित भए भने समयमै आयोजना सम्पन्न गर्न सकिन्छ।

सरकारी निकायहरूबीचको समन्वय कस्तो पाउनुभयो?

यादव : मेरो विचारमा सरकारी निकायसँगको काम धेरै हदसम्म छलफल र समन्वयमा भर पर्छ। सम्बन्धित निकायसँग सम्मानजनक व्यवहार, निरन्तर समन्वय र आवश्यक विषयमा प्रत्यक्ष पहल गरियो भने सहयोग प्राप्त हुन्छ। हामीले विभिन्न निकायसँग समन्वय गरेर छोटो समयमा धेरै काम अघि बढाउन सफल भएका छौँ।

तपाईंको टिम कस्तो छ?

यादव : हाम्रो टिममा प्राविधिक, प्रशासन, लेखा, कन्सल्टेन्ट र कन्ट्र्याक्टर सबै पक्षका सक्षम र समर्पित साथीहरू हुनुहुन्छ। पछिल्लो तीन महिनामा उहाँहरूको कार्यक्षमता र प्रतिबद्धता निकै सकारात्मक पाएको छु। यही टिमवर्कका कारण आयोजनाले गति लिन थालेको हो।

अहिले आयोजनाले भोगिरहेका मुख्य समस्या के-के छन्?

यादव : निर्माण आयोजना भनेकै दैनिक रूपमा नयाँ चुनौती आउने क्षेत्र हो। तर अहिले कुनै गम्भीर प्राविधिक समस्या देखिएको छैन। अहिले २-३ वटा साइटमा रुख कटानको काम बाँकी छ। त्यो पनि आगामी १५-२० दिनभित्र समाधान हुने गरी अघि बढेका छौँ। त्यसपछि सबै चरणमा full-fledged रूपमा काम अघि बढ्नेछ। कन्ट्र्याक्टर पनि मानसिक रूपमा पूर्ण तयारीमा छन्।

स्थानीय समुदायसँग सम्बन्ध कस्तो छ?

यादव : म आउँदा सुरुमा स्थानीयसँगको सम्बन्ध धेरै राम्रो अवस्थामा थिएन। त्यही कारणले आयोजना बन्द हुने अवस्था पनि सिर्जना भएको रहेछ। पछि हामीले स्थानीय समुदायसँग प्रत्यक्ष भेटघाट, छलफल र समन्वयलाई प्राथमिकता दियौँ। स्थानीयका समस्या सुन्ने र समाधान गर्ने प्रयास गर्‍यौँ। अहिले स्थानीय समुदायसँग हाम्रो सम्बन्ध निकै राम्रो भएको छ। उहाँहरूले आयोजनालाई सकारात्मक रूपमा सहयोग गरिरहनुभएको छ।

आयोजनाको लागत कति छ? निर्माण अवधिको ब्याजसहित लागत बढ्ने सम्भावना कस्तो छ?

यादव : आयोजनाको प्रारम्भिक अनुमानित लागत करिब २१.४३ अर्ब रुपैयाँ हो। अहिले बजारमा भएको मूल्य वृद्धिका कारण केही लागत बढ्न सक्छ। विशेष गरी लट-१ र लट-२ का टेन्डरमा त्यसको असर देखिन सक्छ। तर अहिलेको अवस्थामा आयोजना अत्यधिक महँगिने अवस्था भने देखिएको छैन। अहिलेसम्म कुनै गम्भीर प्राविधिक समस्या देखिएको छैन। अब मुख्य सुरुङ खन्ने काम सहज रूपमा अघि बढ्यो भने लागत अत्यधिक नबढ्ने अपेक्षा छ।

अहिलेको गतिअनुसार ८ किलोमिटर सुरुङ खन्ने काम कहिलेसम्म सकिएला?

यादव : हाम्रो लक्ष्य २०८३/८४ तिर मुख्य सुरुङ खनिसक्ने र २०८५ साल वैशाख वा जेठसम्म आयोजना सम्पन्न गर्ने हो। ठेकेदारलाई पनि त्यहीअनुसार निर्माण कार्यतालिका बनाएर काम अघि बढाउन निर्देशन दिइएको छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ?

यादव : तामाकोशी-५ एउटा महत्त्वपूर्ण क्यास्केड आयोजना हो। यसलाई समयमा सम्पन्न गर्न सकियो भने देशको ऊर्जा क्षेत्रमा ठूलो योगदान पुग्नेछ। यसमा राज्य र सर्वसाधारण दुवैको लगानी छ। त्यसैले यसलाई एउटा सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्ने जिम्मेवारी हामी सबैको हो।

हाम्रो सम्पूर्ण टिम आयोजनालाई समयमै सम्पन्न गर्न प्रतिबद्ध भएर काम गरिरहेको छ। हामी सफल हुन्छौँ भन्ने विश्वास छ। आयोजनालाई समयमै सम्पन्न गर्न सरकारी निकायबाट आवश्यक स्वीकृति समयमा प्राप्त हुनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।

केही उपकरण तथा सामग्री विदेशबाट ल्याउन, प्रयोग गर्न र पुनः फिर्ता पठाउन आवश्यक स्वीकृतिका लागि लामो समय पर्खिनुपरेको अवस्था छ। विद्युत् विकास विभागले अहिलेसम्म विदेशबाट आयात हुने सामान (मास्टर लिस्ट) बारे निर्णय गरिदिएको छैन । आशा छ, त्यो पनि छिट्टै हुनेछ ।

त्यसैगरी सुरुङ खन्नका लागि आवश्यक विस्फोटक सामग्री समयमा उपलब्ध नहुँदा निर्माण प्रगतिमा प्रत्यक्ष असर पर्ने जोखिम देखिन्छ। यदि सम्बन्धित निकायहरूले स्वीकृति र समन्वयलाई अझ प्रभावकारी बनाउन सके आयोजना समयमै सम्पन्न गर्न ठूलो सहयोग पुग्ने थियो।

प्रकाशित मिति : मंगलबार, वैशाख २९, २०८३ | १४:०२:११ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया