तनहुँ जलविद्युत् आयोजनाको काम तीव्र, तीनै प्याकेजमा उल्लेख्य प्रगति
जलसरोकार
तनहुँ, : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढाइएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माण भइरहेको आयोजनाका तीनवटै प्याकेजमा एकसाथ काम अघि बढाइएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
आयोजनाअन्तर्गत प्याकेज–१ मा बाँधलगायतका संरचना (हेडवक्र्स), प्याकेज–२ मा मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र प्याकेज–३ मा दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ ।
प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजमा हालसम्म ४७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । मुख्य बाँध निर्माणका लागि आवश्यक डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन अस्थायी बाँध, दुईवटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई विसं २०८० कात्तिक २० गते पथान्तरण गरिएको थियो । त्यसपछि विसं २०८१ जेठमा मुख्य बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ । यी पूर्वाधार निर्माणसँगै मुख्य बाँधको कङ्क्रिटिङ तथा ग्राउटिङ कार्य सुरु गर्न आवश्यक तयारी पूरा भएको छ ।
आयोजनाको १४० मिटर अग्लो मुख्य बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलो कङ्क्रिट राखी कङ्क्रिटिङ कार्य सुरु गरिएको थियो । हाल मुख्य बाँधको कङ्क्रिट, कोर ड्रिलिङ तथा ग्राउटिङलगायतका काम निरन्तर भइरहेको आयोजनाले जनाएको छ ।
प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको निर्माण कार्य चीनको सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजमा भूमिगत संरचना निर्माणका लागि आवश्यक खन्ने काम सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण कार्य सकिएको छ । विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको छ। यस प्याकेजको कुल प्रगति ७२.५ प्रतिशत पुगेको छ ।
आयोजना प्रमुख भण्डारीका अनुसार विद्युत्गृहको सिभिल कार्य करिब सम्पन्न भइसकेको छ भने हाल इलेक्ट्रोमेकानिकल काम जारी छ । विद्युत्गृहमा छाना लगाउने, पानी निकासको व्यवस्था गर्ने लगायतका काम भइरहेको छ।
प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम भारतको केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेको छ । ३३ किलोमिटर लामो प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ। यस प्याकेजको प्रगति ७४.५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
यसका साथै वन क्षेत्र प्रयोग र रुखबिरुवा हटाउन आवश्यक अनुमतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक पहल भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार