एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम सुचारु
जलसरोकार
म्याग्दी, : म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि हटेको छ ।
धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको आयोजनाका कारण दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडक अन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमाना पर्ने दाङखोलामा पुल निर्माण सुरु नभएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए ।
ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि पुल निर्माण सुरु नभएकाले धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजनाको निर्माण कार्य बन्द गराएका थिए ।
स्थानीयवासीको माग अनुसार चालु आर्थिक वर्षभित्रै मोटरेबल पुल निर्माण सुरु हुने सुनिश्चितता भएपछि आन्दोलन फिर्ता लिइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।
उनका अनुसार आन्दोलनमा सहभागी राजनीतिक दल र स्थानीय अगुवासँगको परामर्शपछि आयोजना निर्माण कार्य पुनः सूचारु गराउन सहयोग गर्ने निर्णय भएको हो ।
धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरी छिटो पुल निर्माण सुरु र सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
दाङखोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं २०७६ जेठ २२ गते रु १ करोड ९३ लाख २९ हजार ४५७ मा ठेक्का सम्झौता भएको थियो ।
१८ मिटर लामो मोटरेबल पुल विसं २०७७ जेठ २० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम सुरु हुन सकेको थिएन ।
पुल निर्माण प्रस्ताव गरिएको स्थान दरवाङ म्याग्दीखोला आयोजनाको बाँध डुवान क्षेत्रमा पर्ने भएपछि पुल दुई सय मिटरमाथि सार्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमति भएको थियो ।
सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले नै पुल बनाउने सहमति भए पनि निर्माण व्यवसायी अदालत गएको र विभिन्न अवरोधका कारण काम अघि बढ्न सकेन ।
विसं २०७५ मा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटरेबल पुल जीर्ण भइसकेको छ । नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका बासिन्दालाई आवतजावतमा समस्या हुँदै आएको छ ।
स्थानीयवासीले स्थायी पुल निर्माण शीघ्र सुरु गर्न माग गर्दै दबाबका लागि जलविद्युत् आयोजनाको निर्माण कार्य रोक्दै आएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा ५ प्रतिशत थप शुल्क भाेलिबाट
-
आर्थिक वर्षको अन्तिम कारोबार दिन नेप्से ७.५० अंकले बढ्यो
-
दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान सुरु
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने